१६ माघ २०७९, सोमबार

पार्टी एकताका लागि भन्दै बामदेव गौतम फेरि सकृय, प्रचण्डसँग छलफल

प्रकाशित मिति :  25 February, 2021 10:55 am


काठमाडौं । प्रतिनिधि सभा विघटन लगत्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भएपनि तटस्थ बसेका बामदेव गौतम फेरि सकृय भएका छन् ।

पार्टी एकताका लागि अभियान समेत घोषणा गरेका गौतमले प्रतिनिधि सभा पुनस्र्थापना लगत्तै पार्टी एकतामा जोड दिँदै छलफल सुरु गरेका छन् । उनले आज प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डसँग भेट गरेका छन् ।

सर्वोच्च अदालतले अस्ति प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गरे लगत्तै गौतमले हिजो प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।

उनले भनेका थिए,“नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी वली र क.प्रचण्डसंग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के.कार्यालयमा वोलाउन अनुरोध गर्छु ।”

पूर्ववत पार्टीकै सचिवालय बैठक बोलाउन आग्रह गरेका गौतमले तुरुन्तै राजीनामा दिनपनि अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । उनले आज अध्यक्ष प्रचण्डलाई भेटर ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्नुपर्नेमा जोड दिएका छन् । बिहान सात बजेतिर प्रचण्ड निवास पुगेका गौतमले भण्डै एक घण्टा छलफल गरेका थिए ।

नेकपा विभाजनपछि एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् ।

गौतम भने कतै नलागेर पार्टी एक हुनुपर्ने भन्दै नेपाल ‘कम्युनिष्ट पार्टी(नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा गरेका थिए । प्रतिनिधि सभा पुनस्र्थापनापछि गौतम फेरि एकतालाई जोड दिँदै छलफलमा जुटेका हुन् ।



प्रतिक्रिया दिनुहोस !