१३ बैशाख २०८१, बिहिबार

वैधानिक रुपमा विभाजित नहुँदा प्रचण्ड-नेपाल समूहलाई सत्ता समिकरणमा समस्या

प्रकाशित मिति :  25 February, 2021 6:38 pm


काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वैधानिक विभाजन नभएपछि नयाँ सरकार गठनबारे अन्योलताको संकेत देखिएको छ ।

प्रतिनिधि सभा पुनस्र्थापना लगत्तै नेकपाको प्रचण्ड–नेपाल समूहले नयाँ सरकार गठनको पहल थालेको छ । अहिलेसम्म नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेको प्रचण्ड-नेपाल समूहलाई दुबै पार्टीले वैधानिकताबारे प्रश्न उठाएका छन् ।

पछिल्लो घटनाक्रमबारे आज नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएर छलफल गरेको छ । छलफलपछि नेता प्रकाश शरण महतले अहिले नै सरकार परिवर्तन र सत्ता गठवन्धनबारे परिस्थिति परिपक्क नभएको बताए ।

बैठकपछि उनले भने,”सबैभन्दा पहिले उहाँहरुले टुंगो लगाउनु पर्छ । वैधानिक हिसाबले उहाँहरु अहिलेपनि एउटै पार्टी हुनुहुन्छ । यो उहाँहरुको आन्तरिक कुरा हो हामीले धेरै भन्न मिल्दैन । उहाँहरु मिल्दा हामी प्रतिपक्षीमा रहन्छौं नै होईन भने त्यतिबेलै सोंच्न पर्छ ।”

कांग्रेसले सरकार शून्यताको स्थितिमा रहन नदिने पनि बताएको छ । अर्को नेता अर्जुननरसिंह के.सी.ले नेकपाको अवस्था परिपक्क भए आफूहरुले निर्णय गर्ने बताए ।

मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । विघटन लगत्तै नेकपा विभाजित भएको थियो । विभाजित नेकपाको एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

निर्वाचन आयोगले विभाजित दुबै पक्षलाई मान्यता नदिएपछि प्रचण्ड नेपाल समूहले आधिकारिकताको दाबी गर्दै माघ २० गते निवेदन दिएको थियो । सर्वोच्च अदालतले अस्ति प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गरेको छ र फैसलाको १३ दिनभित्र संसद अधिवेशनको आव्हान गर्न आदेश दिएको छ । प्रचण्ड नेपाल समूहले ओलीले तत्काल राजीनामा दिन माग गर्दै सरकार परिवर्तनको कसरत गरेको छ । तर, वैधानिक विभाजन नहुँदासम्म नयाँ सरकार गठनको कसरत अफ्ठेरोमा पर्ने देखिएको छ ।

प्रचण्ड–नेपाल समूहले आज विहान मात्रै जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको थियो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जसपाका नेताहरुसँग नयाँ राजनीतिक परिस्थितिमा सहमति र सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए ।

जसपाका नेताले भने वैधानिकताबारे प्रश्न उठाएका थिए । बैठकपछि नेता महतोले पत्रकारले भने,“तपाईंहरुको कुन पार्टी हो? अधिकारिक पार्टी त चाहियो नि भन्यौँ, तपाईंहरु (प्रचण्ड–नेपाल)ले राखेका सबै कुराहरु हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौँँ।”

 



प्रतिक्रिया दिनुहोस !