१५ चैत्र २०८०, बिहिबार

आयोगमाथि दबाब बढाउँदै प्रचण्ड-नेपाल समूह, प्रवक्ता श्रेष्ठको प्रश्न,‘निर्वाचन आयोग के गर्दैछ ?’

प्रकाशित मिति :  27 February, 2021 5:53 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगप्रति प्रश्न उठाएको छ ।

बिधानसम्मत गरेको संगठनात्मक निर्णयको जानाकारी गराएर अध्यावधिक गर्न अनुरोध गर्दा समेत अध्यावधिक नगरेर गैर कानूनी ढंगबाट विवाद निरुपणको प्रकृया अन्तर्गत आउन वाध्य पारेको भनेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले फेसबुकमा लामो स्टाटस लेख्दै वाध्यतावस पार्टीको आधिकारिकताको “विवाद”निरुपणको निम्ति अनुरोध गर्दा निर्णय नदिने काम किन र के उद्देश्यका निम्ति गरिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्,“एउटा संवैधानिक अंग सर्वोच्च अदालतले सारा दबाव ,धम्की र प्रतिगामी षडयन्त्रलाई चिर्दै भर्खरै मात्र संविधान र लोकतन्त्रको रक्षाको पक्षमा गरेको ताजा ऐतिहासिक फैसला सवैका लागि प्रेरक रहेको छ । तर, निर्वाचन आयोग के गर्दैछ ?”

सर्वोच्च अदालतमार्फत पुरा हुन नसकेको प्रतिगामी योजनाको सेवामा के निर्वाचन आयोग प्रयोग होला त ? भन्दै प्रवक्ता श्रेष्ठले भनेका छन्,“अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग बन्ला त ? संविधानलाई बचाउने अदालतको फैसलालाई निष्प्राण बनाउदै संविधान र कानूनलाई नाङ्गै लत्याउने काम निर्वाचन आयोगबाट होला त ?अहिलेको सर्वाधिक सार्वजनिक सरोकारको प्रश्न हुन् यी ।”

निर्वाचन आयोगले संविधान र कानून सम्मत ढङ्गले सहज निर्णय लिसक्नुपर्नेमा त्यसो नगरेको कारणले यी प्रश्नहरु जन्मेका भन्दै प्रवक्ता श्रेष्ठले भनेका छन्,“तर हामी अझै पनि निर्वाचन आयोगका वारेमा यसरी सोचिहाल्न चाहादैनौ । निर्वाचन आयोगले संविधान र कानूनका आधारमा स्वतः स्पष्ट यस बिषयमा छिट्टै निर्णय दिनेछ भन्नेमा हामी विश्वास गर्दछौं ।”

प्रतिनिधिसभा बैठकको मिति समेत तोकिसकिएको अवस्थामा निर्वाचन आयोगले तुरुन्त यस विषयमा निर्णय गर्नु अनिवार्य भएको प्रवक्ता श्रेष्ठको भनाई छ । उनले भनेका छन्,“अन्यथा निर्वाचन आयोग समेत शँकाको घेरामा पर्न जानेछ र अदालतले दिएको फैसलाको निकासलाई असफल बनाई राजनीतिक संकट चर्काउने कार्यको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्नेछ ।”

निर्वाचन आयोगले सर्वोच्च अदालतले बढाएको संवैधानिक अंग माथिको नेपाली जनताको भरोसालाई टुट्न नदिने आफूले आशा गरेको प्रवक्ता श्रेष्ठको भनाई छ



प्रतिक्रिया दिनुहोस !