१२ श्रावण २०८१, शनिबार

स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर राष्ट्रिय अर्थतन्त्र माथि उठाउन परिसंघको आग्रह

प्रकाशित मिति :  1 March, 2021 7:33 pm


काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरि “मेक इन नेपाल–स्वदेशी” अभियानबारे छलफल गरेको छ ।

भेटका क्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए ।

परिसंघको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै उनले मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताए ।

यस अभियानमा सरकाले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने उनको धारणा थियो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले स्वामित्व लिई तुरुन्त यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताए । यो लोगो परिसंघ, नीजिक्षेत्र, सरकार विशेषको नभई देशकोनै हुनु पर्ने माग राखे । यसका लागि संयुक्त प्रयास र सहभागिता हुनु पर्ने उनको जोड   थियो ।

अर्थमन्त्री पौडेलसँगको छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले परिसंघले तयार पारेको अवधारणाका सम्बन्धमा प्रस्तुति गरेका थिए । उनले परिसंघले अगाडी सारेको अवधारणा केहि महत्वकांक्षी देखिए पनि परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको बताए ।

विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्‍याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने अग्रवालले बताए ।

अर्थमन्त्री पौडेलले परिसंघले अगाडी सारेको अवधारणा राम्रो रहेको बताउँदै समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनको लागि अन्तरसंवादलाई निरन्तरता दिनु पर्ने बताए । यस अभियानमा नीजि क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनु पर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !