१९ बैशाख २०८१, बुधबार

जेल पठाउने आदेशविरुद्ध महराले दिएको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ शुरू

प्रकाशित मिति :  19 December, 2019 12:44 pm


काठमाडौं,पुष ३

पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतले गरेको निर्णयविरुद्ध दिएको पुनरावेदनमा आज सुनुवाइ भइरहेको छ।

उच्च अदालत पाटनमा महराको पुनरावेदनमाथि अहिले सुनुवाइ भइरहेको रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए। उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासमा सुनुवाइ भइरहेको छ।

महराले थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग राखेर उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको भन्दै उनी विरुद्ध मुद्दा चलिरहेको छ।

काठमाडौं जिल्ला अदालतले १९ कात्तिकमा महरालाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश गरेको थियो। १७ मंसीरमा उच्च अदालतमा निवेदन दर्ता भएको थियो। निवेदन दर्तापछि मुख्यन्यायाधीश नहकुल सुवेदीको इजलासले मुद्दाको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो।

इजलासले सुनुवाइपछि महरालाई साधारण तारेखमा छाड्न वा धरौटीमा छाड्न अथवा काठमाडौं जिल्ला अदालतकै आदेशलाई सदर गर्न सक्नेछ।



प्रतिक्रिया दिनुहोस !