१२ श्रावण २०८१, शनिबार

धानबालीलाई मल अभाव हुन नदिन २ लाख मेटन मल बफर स्टकमा

प्रकाशित मिति :  4 March, 2021 5:03 pm


काठमाडौं ।

सरकारले धान बालीका लागि रासायनिक मल अभाव हुन नदिन दुई लाख मेट्रिक टन रासायनिक मल बफर स्टक (मौज्दात) मा राख्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मुख्य बाली धान रोपाइँको समयमा मल अभाव हुन नदिन अध्ययन गरेर प्रक्रिया अगाडि बढाएको हो ।

बिहीबार मन्त्रालयले पत्रकार सम्मेलन गरेर रासायनिक मलको आपूर्ति सम्बन्धि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । कृषि मन्त्री पद्या अर्यालले मल आपूर्तिको समस्या समाधान गरि, मलको अभावमा उत्पादन घट्ने तथा किसान र सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताइन् ।

“मलको आपूर्ति अनुमानको आधारमा होइन तथ्य र आवश्यकताको आधारमा गर्नेगरी त्यहाँको प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ, त्यसको आधारमा प्रबन्ध गरिनेछ,” मन्त्री अर्यालले भनिन् ।

तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती र दिर्घकालीन समाधाका लागि सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था तथा मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अगाडी बढेको हो ।

पछिल्लो तीन वर्षमा चैत, वैशाख, जेष्ठ र असारमा कुल २ लाख मेटन मल खपत हुने गरेको तथ्यांक छ । अध्ययनका आधारमा मन्त्रालयले सो सिजनका लागि २ लाख मेटन नै स्टक रहने व्यवस्था गरेको कृषि सचिव डा. योगेन्द्र कुमार कार्कीले बताए ।

चालू आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने योजना मन्त्रालयको छ । जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइ सकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ ।

गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्रि भएको थियो । पछिल्ला ३ वर्षहरुको विक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधीमा करिब ३ लाख मेट्रिक टन मल आपुर्तीको लागि यहि महिनाबाट आयात प्रक्रिया सुरु गर्ने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !