१७ बैशाख २०८१, सोमबार

उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा

प्रकाशित मिति :  5 March, 2021 3:43 pm


काभ्रेपलाञ्चोक । उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार बनेपामा हुन लागेको अधिवेशनमा अध्यक्ष पदका लागि वसन्तनारायण भोछिभोया र राजेन्द्र पसछेबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदका उम्मेदवार भोछिभोयाले व्यवसायलाई टेवा दिने र सुरक्षाको प्रत्याभूति दिने र व्यावसायिक वातावरण बनाउने भूमिकामा सहयोग गर्ने प्रतिबद्धताका साथ आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

अध्यक्षका अर्का उम्मेदवार पसछेले उद्योगी व्यवसायीको हकहितका लागि अहिलेको भन्दाबढी सेवा र सहयोग गर्नुका साथै जिल्लाभित्रका नगर÷गाउँपालिकास्तरमा गठन भएका उद्योग वाणिज्य सङ्घलाई समन्वय एवं सहकार्यका लागि आफ्नो उम्मेदवारी भएको बताए।

दुई समूहबीच हुने प्रतिस्पर्धामा छुट्टाछुट्टै प्यानलमा परेकामध्ये वरिष्ठ उपाध्यक्षमा प्रताप वैद्य, मुख्य संयोजक पदमा राजेशकुमार श्रेष्ठ, सचिवमा यशकुमार रञ्जित, महिला सदस्य पदमा इन्द्रलक्ष्मी श्रेष्ठ र कुमुदा वैद्य, क्षेत्रगत सदस्यमा दाप्चा क्षेत्रबाट सुरेन्द्र शुद्धाकार, बनेपा क्षेत्रबाट सुमन चौ प्रधान र एशोसिएटबाट साजन शाक्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

सङ्घको महासचिव पदमा भोछिभोयाको समूहबाट विकास शर्मा तिमल्सिना र पसछेको समूहबाट रविन्द्र बैदारको प्रतिस्पर्धा हुने भएको छ । सङ्घमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, मुख्या संयोजक, सह मुख्य संयोजकसहित खुला सदस्यमा १० जना, महिला सदस्य दुई जना र क्षेत्रगत सदस्य १० जना र पदेन सदस्य गरी जम्मा ४१ सदस्य रहने व्यवस्था छ । काभ्रे उद्योग वाणिज्य सङ्घमा एक हजार १९५ सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस !