२३ बैशाख २०८१, आइतबार

पर्सामा हुलास आइरन इण्डष्ट्रिज उद्योग स्थापना

प्रकाशित मिति :  9 March, 2021 9:17 am


पर्सा । पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ ।

गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इण्डष्ट्रिज प्रालि नामक सो उद्योग आउँदो वैशाख महिनाबाट सञ्चालनमा आउने भएको उद्योगका पदाधिकारीले जनाएका छन् ।

पर्साको वीरगञ्ज–पोखरिया सडक खण्डअन्तर्गतको विन्दवासिनी गाउँपालिकामा सो उद्योग स्थापना गरिएको हो । गोल्छा समूहका शरद गोल्छाको लगानीमा निर्माण भइरहेको सो उद्योगबाट वार्षिक ८० हजार टन फलामजन्य सामग्री उत्पादन हुने लक्ष्य राखिएको छ ।

उद्योग सञ्चालनपश्चात् त्यस उद्योगबाट पाइप, जस्तापाता, वायर र बोल्डर (तारजालीको) र एङ्गल उत्पादन हुने बताइएको छ । अठार बिघा जमिन क्षेत्रफलमा निर्माण भइरहेको सो उद्योग तीन वर्ष अगाडिदेखि निर्माण भइरहेको हो ।

गत वर्ष नै निर्माणसम्पन्न गरी सञ्चालन गर्ने योजना रहे पनि कोरोना महामारीका कारण उद्योग निर्माण सम्पन्न गर्नमा ढिलाइ भएको थियो । निर्माण ढिलाइका कारण उद्योग निर्माणको लागत पनि बढ्ने अनुमान रहेको व्यवस्थापन पक्षका पदाधिकारीले बताएका छन् ।

उद्योग सञ्चालनका लागि निर्माणकार्य छिटो सम्पन्न गराउनका लागि दैनिक ४०/५० कामदार तथा प्राविधिकले काम गरिरहेका छन् । आधुनिक प्रविधिको प्रयोगबाट त्यस उद्योगबाट फलामजन्य सामग्री उत्पादन हुनेछ ।

वीरगञ्ज–पोखरिया क्षेत्रमा सञ्चालित उद्योगमध्ये सबैभन्दा ठूलो लगानीको उद्योग रहेको र यसको सञ्चालनबाट उद्योगले करिब एक हजार व्यक्तिलाई रोजगारी दिने बताइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस !