२० बैशाख २०८१, बिहिबार

भारतको सहयोगमा पाटनको कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माण सुरु

प्रकाशित मिति :  9 March, 2021 5:51 pm


काठमाडौं ।

ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको पुनर्निमाण सुरु भएको छ । मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले सिलान्यास गरेर सो क्षेत्रको विकास र पुनर्निर्माण सुरू गरेका हुन् ।

नेपालका सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारको ५ अर्व ८० करोड रकम सहयोग गर्ने प्रतिवद्धता अनुरुप सिलान्यास भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

भारतीय सहयोगमा २८ वटा सांस्कृतिक सम्पदा विकास तथा पुननिर्माण गर्ने कार्यक्रम अन्तर्गत कुमारी छेँ र कुमारी निवासको परियोजना सुरु गरिएको हो । नेपाल सरकारले पहिचान गरेका परियोजनाहरुको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाईले गरिरहेको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएकाे सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुरुप कुमारी छेँ र कुमारी निवासको संरक्षण गरिनेछ भएको छ ।

पुनर्निर्माणका क्रममा पुरानो भवनको पुनस्र्थापना र भित्ते चित्रको संरक्षण पनि गरिनेछ भने हाल कुमारी छेँ भएको स्थानको पूर्वी दिशाको खाली जग्गामा नयाँ भवनको निर्माण हुनेछ ।

सिलान्यास समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व संस्कृति मन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्याम किशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवम् समुदाय सदस्यहरु तथा भारतीय राजदूतावासको पुनर्निर्माण एवम् विकास प्रभागका अधिकारीहरुको पनि सहभागीता थियो ।



प्रतिक्रिया दिनुहोस !