२६ बैशाख २०८१, बुधबार

हैदरावादमा पाइने ‘दम’ बिरयानी विराटनगरमा

प्रकाशित मिति :  10 March, 2021 2:11 pm


विराटनगर । पछिल्लो समयमा विराटनगरमा बिरयानी खाने प्रचलन बढेको छ । कुनै समयमा यहाँका मानिसहरु भारतको दिल्ली, फारबिसगञ्ज, लखनाउ जाँदा खाने बिरयानी यहीँ खान पाउँदा दङ्ग छन् ।

केही वर्ष पहिले यहाँका मानिसहरु काठमाडौँ जाँदा बागबजारस्थित पाकिजा होटेलमा बन्ने बिरयानी खाएर साबुनले हात पनि धुँदैनथे, किनकी साबुनपानीले हात धुँदा बासना पखालिन्थ्यो ।

यही बासनाका लागि पनि मानिसहरुले हात साबुनले धुँदैनथे । काठमाडौँको बागबजारस्थित पाकिजा होटेल बिरयानीका लागि प्रख्यात मानिन्छ र यसका पारखीहरु काठमाडौँ जाँदा एकपटक बिरयानीको स्वाद लिन पछि पर्दैनन् ।

खास गरेर मुस्लिम समुदाय अत्यधिक मन पराउने बिरयानी अहिले सबै समुदायका मानिसका लागि लोकप्रिय भएको छ । आ–आफ्ना जन्मदिन मनाउँदा युवायुवती बिरयानी हाउस रोज्छन् र बिरयानी खाएर एकले अर्कालाई शुभकामना दिन्छन् ।

बिरयानी हाउस युवायुवतीका लागि भेटघाट गर्ने स्थलका रुपमा पनि विकसित हुनुले यो व्यापारमा लाग्ने मानिस पनि उत्साहित भएका छन् ।

प्रदेश नं १ को राजधानी विराटनगरमा विभिन्न खानाका परिकारहरु पाइने होटेलहरु सञ्चालनमा आएको भए पनि अहिले बिरयानी हाउसहरु पनि एक दर्जनभन्दा सञ्चालनमा आएका छन् ।

शुरुशुरुमा ठूल्ठूला रेस्टुरेन्ट (भोजनालय) मा मात्र पाइने बिरयानी अहिले सर्वसाधारण नागरिकको पनि पहुँच पुगेको पाइएको छ । पहिला धनीले खाने यो परिकार अहिले विपन्न र गरीब मानिसका लागि सहज भएको छ ।

खासगरेर कोभिड–१९ ले महामारी रुप लिएपछि रोजगार गुमाएका युवाहरु यस पेशामा आकर्षित भएकाले बिरयानी हाउसको सङ्ख्या उल्लेखनीयरुपमा बढेको पाइन्छ । पछिल्लो समयमा विराटनगरमा एक दर्जनभन्दा बिरयानी हाउसहरु सञ्चालनमा आएका छन् ।

सञ्चालित बिरयानी हाउसको आ–आफ्नै शैली छन् । कोही चिकेन त कोही मटन बिरयानी बनाएर ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेका छन् । बिरयानी हाउसबाटै राम्रो आम्दानी गर्न सफल भएपछि उनीहरुले यसलाई नै व्यवसायको मुख्य स्रोत मानेका छन् ।

विराटनगरका सबैभन्दा पुराना होटेल गुद्री बजारस्थित बिरयानी प्वाइन्टले ४० वर्षदेखि होटेल व्यवसाय गर्दै आएको छ भने लगभग दुई वर्षदेखि बिरयानी बनाउन थालेपछि सुक्न लागेको व्यापार पुनः मौलाएको सञ्चालक मक्सुद खानले जानकारी दिए ।

उनले बनाउने बिरयानी ग्राहकहरुको इच्छाअनुसार हुन्छ । ग्राहकले जस्तो रुचि राख्छन्, त्यस्तै बिरयानी बनाएर सेवा गर्न पाउँदा खुशी लाग्ने गरेको सञ्चालक खानको भनाइ छ । यो बिरयानी हाउसमा मुस्लिमहरुको साप्ताहित प्रार्थनाको दिन शुक्रबार अत्यधिक बिक्री हुन्छ ।

शुक्रबार भ्याइनभ्याइ हुन्छ, अरू दिन त लगभग ५० देखि ६० जना ग्राहक बिरयानी खान आउने गरेको खानले जानकारी दिए। उनले प्रतिप्लेट रु १०० को दरले चिकेन बिरयानी बेच्दै आइरहेको बताए । परिवारका सदस्यबाट सेवा गराउने यो बिरयानी हाउसले महिनामा राम्रै आम्दानी हुने गरेको खानको भनाइ छ ।रासस



प्रतिक्रिया दिनुहोस !