१२ श्रावण २०८१, शनिबार

२४ घण्टाभित्र मन्त्रिपरिषदबाट फिर्ता हुन गृहमन्त्री बादलसहितका नेतालाई नेकपा माओवादी केन्द्रको निर्देशन

प्रकाशित मिति :  13 March, 2021 10:24 am


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले २४ घण्टामा मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । बैठकले पार्टीमा नफर्किएको विषयमा स्पष्टिकरण दिन समेत निर्देशन दिएको छ ।

बैठकले एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय गरेको पार्टी अध्यक्ष प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी गराएका छन् ।

नेकपा विभाजनपछि माओवादी केन्द्रका सात नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका थिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्वोच्च अदालतले खारेज गरिदिएपछि पनि बादलसहितका नेता नेकपा एमालेमा छन् र उनीहरुलाई हिजो मात्रै जिम्मेवारी दिइएको छ ।

बादलसहितका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ । साथै बादललाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ भने लेखराज भट्टलाई सदूरपश्चिम प्रदेशको इन्चार्ज बनाइएको छ ।

उनीहरु नेकपा माओवादी केन्द्रमा फर्कने र मन्त्रिपरिषद् छोड्ने सम्भावना छैन । त्यसै नेकपा (माओवादी केन्द्र) को निर्णय र निर्देशन औपचारिकताका लागि मात्रै हुने छ ।

बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ।



प्रतिक्रिया दिनुहोस !