२२ बैशाख २०८१, शनिबार

२०७७ फागुनभित्र महाधिवेशन गर्ने कांग्रेसको तयारी

प्रकाशित मिति :  22 December, 2019 5:20 pm


काठमाडौं, पुस ६

नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनभित्र गर्ने तयारी गरेको छ।विवाद हल गर्ने जिम्मेवारी पाएका वार्ता समितिका संयोजक उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच अर्को वर्ष फागुनसम्म महाधिवेशन गरिसक्ने गरी अघि बढ्ने सहमति भएको छ।

सभापति शेरबहादुर देउवाले निधि र बरिष्ठ नेता पौडेलले सिंहलाई विवाद समाधानका लागि वार्ता गर्ने जिम्मेवारी दिएपछि पटकपटक वार्ता भए पनि अहिलेसम्म ठोस सहमति बन्न सकेको थिएन।

सिंह निवास चाक्सीबारीमा आइतबार बसेको बैठकमा दुवै पक्ष ०७७ फागुनभित्रै महाधिवेशन गर्ने सहमतिमा पुगेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिए।

‘२०७७ फागुनभित्रै महाधिवेशन गर्ने पक्षमा हामी पुगेका छौं। शीर्ष नेताले छलफल गरेपछि यो विषय टुंगिन्छ,’ बडुले भने, ‘उपसभापति निधिले यो कुरा सभापति देउवालाई जानकारी गराउनुहुन्छ।’

उनले महाधिवेशन गराउन पार्टीभित्र यति ठूलो विवाद हुनु नपर्ने पनि बताए। ‘महाधिवेशन समयमै गर्ने पार्टीको साझा विषय नै हो। विवाद गरिराख्नु पर्ने नै होइन,’ उनले भने।

सभापति देउवा अहिले नै महाधिवेशनको कार्यतालिका जारी गर्ने पक्षमा नदेखिएपछि पौडेलले लगातार पाँच दिन केन्द्रीय समिति बैठक बहिष्कार गरेर दवाव दिएका थिए।

‘उहाँहरू  देउवा पक्ष पनि महाधिवेशन गर्न सहमत हुनुहुन्छ। उहाँहरूले फागुनमा गरौं भन्नुभएको छ। हामी ९पौडेल पक्ष मंसिरमै हुनुपर्छ भन्नेमा छौं,’ बडुले थपे, ‘शीर्ष नेता एक राउण्ड छलफलमा बसेपछि समय टुंगो लाग्छ।’

सभापति देउवा पक्षले पार्टीको संघीय विधानअनुसार सबै निकायमा समायोजन नसकिएको दाबी गर्दै अहिले महाधिवेशनको कार्यतालिका बनाउन नसकिने बताउने गरेको थियो।कांग्रेसले प्रदेशबाहेक पार्टीका अरू निकायमा सहमतिमै अन्तरिम संरचना तयार गर्ने सहमति गरेको थियो।

दुई साताअघि सभापति देउवाले पौडेल पक्षको बहिष्कारबीच ९ एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन्। २८ विभागलाई बृद्धि गरी ४१ पुर्‍याउने र ती विभाग पूर्णता दिने मुख्य एजेन्डा छ।

पौडेल पक्षले विभाग बढाउनु विधान विपरीत हुने बताएको छ। सभापतिले निर्वाचित भएको दुई महिनाभित्र बनाइसक्नुपर्ने विभाग चार वर्षसम्म गठन नगरेको र अहिले महाधिवेशनलाई प्रभाव पार्ने गरी गठन गर्न खोजेको पनि पौडेल पक्षको आरोप छ।चार वर्षपछि विभागहरू गठन गर्नुपर्ने अवस्था छैन। तैपनि हामी केही लचिलो हुन्छौं,’ बडुले भने, ‘अब महाधिवेशनमा जुट्ने बेला हो।’

नेविसंघबारे पनि कांग्रेसभित्र विवाद छ।नेविसंघमा ११ औं महाधिवेशन गराउने नेतृत्वसहित कार्यसमिति बनाउने कि तीन वर्षे कार्यकाल नै भएको समिति बनाउने भन्नेमा विवाद कायमै छ।

‘नेविसंघलाई नेतृत्व दिने आधारहरू खोजी भइराखेका छन्। हामीले गत चुनावमा भएको मतको आधार मान्न सकिन्छ भनेका छौं,’ बडुले भने।

तरूण दललाई पूर्णता दिन नसक्नु आफूहरूको कमजोरी रहेको पनि उनले बताए। ‘तरूण दलमा चार जना छन्, पूर्णता दिन सकिएन,’ उनले भने।

कात्तिकमा कार्यकाल सकिएको जीतजंग बस्नेत नेतृत्वको तरूण दललाई नै अझै छ महिना निरन्तरता दिने प्रस्ताव देउवाले केन्द्रीय समितिमा प्रस्ताव लगिसकेका छन्।

यी समग्र विषयमा पुस १० गते बस्ने केन्द्रीय समितिमा छलफल हुनेछ। गत शुक्रबार सहमति खोज्ने भन्दै बैठक स्थगित गरेपछि नेताहरूले सहमतिका पहल गरिराखेका छन्।

सभापति देउवाको चार वर्षे कार्यकाल यही फागुनमा सकिँदैछ। विधानमै भएको व्यवस्थाअनुसार केन्द्रीय समिति बैठकबाट पारित गराएर देउवा एक वर्ष कार्यकाल थप्ने पक्षमा छन्। महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्न सभापति देउवा सहमत भए कार्यकाल थप गर्न पौडेल पक्ष पनि सहमत देखिन्छ।

 



प्रतिक्रिया दिनुहोस !