पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा गम्भीर समस्या भन्दै भ्रामक समाचार सार्वजनिक भएकोमा आपत्ति
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भन्दै समाचार प्रकाशन प्रशारण भएको भन्दै खनालको नीजि सचिवालयले खण्डन गरेको छ ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्यामात्रै भएको जानकारी गराएका छन् । उनले भनेका छन्,“बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था होइन ।
कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सूचना सम्प्रेषण गर्नु भन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ ।”
यस्ता खालका भ्रामक अफवाहमा आधारित समाचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति गम्भीर आपत्ति रहेको खनालको सचिवालयले जनाएको छ ।
स्वकीय सचिव भट्राईले भनेका छन्,“उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा हार्दिक आग्रह गर्दछु ।”
खनालको मृगौलामा गम्भीर समस्या भएको र तीन महिनाभित्र प्रत्यारोपण वा डाइलासिस् गराउने भन्दै समाचारहरू सार्वजनिक भएका थिए ।








