५ जेष्ठ २०८१, शनिबार

घनश्याम भुषालले भने ‘ओली सत्ताभोगको अतृप्त तृष्णामा छन् ’

प्रकाशित मिति :  1 April, 2021 3:11 pm


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई कारबाही गर्दै निलम्बन गरेका छन् ।पाण्डे र भुषालले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।

यसअघि उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बित गरेका थिए ।यस्तै गतिविधि जारी रहे थप कडा कारबाही हुन सक्ने अध्यक्ष ओलीले निलम्बन पत्रमा जनाउँदै उनीहरूलाई सच्चिनका लागि यो अन्तिम मौका भएको पनि उल्लेख गरेका छन् ।

ओलीको कारबाही पछि भुषालले ट्वीट गर्दै भनेका छन् ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।’

यसैगरी भुषालले ‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला÷गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’



प्रतिक्रिया दिनुहोस !