१६ चैत्र २०८०, शुक्रबार

कांग्रेस र जसपासँग मिलेर छिट्टै अविश्वासको प्रस्ताव दर्ता गर्छौ : नेता पुन

प्रकाशित मिति :  3 April, 2021 4:03 pm


ओखलढुंगा । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर छिट्टै अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् ।

ओखलढुंगा जिल्ला पार्टी बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पुनले केही दिनमा नै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने बताएका हुन् ।

नेता पुनले समर्थन फिर्ता लिएर नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव राख्ने बताएका हुन् । उनले भने,“हामीले केही दिनमा नै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिन्छौं । समर्थन फिर्ता लिन्छौं र कांग्रेस जनता समाजवादी र हामी मिलेर अविश्वासको प्रस्ताव राख्छौं र सरकार    बदल्छौं ।”

नेता पुनले अहिले आफूहरूले नेकपा एमाले भित्रको अन्तरसंघर्षलाई हेरिरहेको उल्लेख गरे । उनले भने,“हामीले नेकपा एमालेभित्रको अन्तरसंघर्ष पनि हेरेका    छौं । माधवजीहरूले एउटा राजनीतिक निर्णय लिनुहोला । हिजो कांग्रेसको निर्णयपछि एउटा वातावरण बन्दै गएको छ कि अविश्वासको प्रस्ताव गर्ने र सरकार बदल्ने ।”

नेता पुनले सरकार परिवर्तन गर्न नसकेको अवस्थामा प्रतिपक्षमा बस्ने बताए ।

उनले प्रतिपक्षमा बसेर समाजवादी केन्द्र बनाएर विचार मिल्नेहरूको गठवन्धन बनाउने बताए । नेता पुनले भने,“सरकार परिवर्तन गर्न नहुने अवस्थामा ओली जीले आफ्नो बहुमत जुटाउनुहोला,हामी छोड्दिन्छौं,विपक्षीमा आउँछौ,समाजवादी केन्द्र भनेर गठवन्धन बनाउँछौं । बीचार मिल्नेहरुको गठवन्धन बन्छ । संसदमा बिपक्षी दलमा हुन्छौं ।”



प्रतिक्रिया दिनुहोस !