१३ बैशाख २०८१, बिहिबार

प्रधान सम्पादक बुढाथोकीद्वारा चुनावी खर्च सार्वजनिक

प्रकाशित मिति :  9 April, 2021 4:17 pm


काठमाडौं । लुम्बिनी सञ्चार डट कम तथा टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले नेपाल पत्रकार महासंघको चुनावमा भएको आफ्नो खर्च सार्वजनिक गरेका छन् ।

प्रधान सम्पादक बुढाथोकीले महासंघको अध्यक्षमा उमेदवारी दिएका थिए । मतगणना अन्तिम चरणमा पुगेपछि प्रधान सम्पादक बुढाथोकीले चुनावी खर्च सार्वजनिक गरेका हुन् ।

उमेदवारी दिनु अघि उनले सहयोगका लागि आग्रह गरेका थिए । चुनावका लागि बुढाथोकीले ४२ हजार रुपैयाँ संकलन भएको जानकारी गराएका छन् । जसमध्य १० हजार रुपैयाँ उम्मेदवारी शुल्क, र अन्य खर्च ३६४०० रुपैयाँ भएको जानकारी गराएका छन् ।

उनले,‘नेपाल पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिँदाको आय÷व्यय खर्च विवरणः तपाईंहरूजस्तै साथीले दिनुभएको १००÷१०० रुपैयाँको चुनावी सहयोग रु. ४२०००।–, उम्मेदवारी शुल्कः रु.१०,००० र जतिसुकै किफायती गर्दा पनि मेरो शारीरिक अवस्थाका कारण ट्याक्सी रिजर्भमा लिनु पर्दा भाडा, डाइपर, स्टेशनरी, खाजारपानी तथा सञ्चार गरि कुल खर्च रु.३६४००।–’ भनेर उल्लेख गरेका छन् ।

उठेको रकमबाट ५,८०० रुपैयाँ बचेको प्रधानसम्पादक बुढाथोकीले जानकारी गराएका छन् ।

प्रधानसम्पादक बुढाथोकीले यसअघि गरेको प्रतिबद्धताअनुसार बचेको रकममा केही आफ्नैतर्फबाट थपेर स्पाइनल इन्जरी नेटवर्कमा रहेका १५ जना स्पाइनल इन्जरी भएका बच्चाहरुको किताबकापीका लागि १५ हजार रुपैयाँ दिने बताएका छन् ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको यही २५ गते भएको चुनावको मतपरिणाम अन्तिम चरणमा पुग्दा विपुल पोख्रेल नेतृत्वको प्यानल जित नजिक पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !