१५ चैत्र २०८०, बिहिबार

उत्पादित वस्तुको बजारीकरणका लागि सरकारले अध्ययन शुरु गरेको छ : मन्त्री अर्याल

प्रकाशित मिति :  12 April, 2021 4:16 pm


मुस्ताङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले काम शुरु गरेको बताएकी छन् ।

मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको आज शुभारम्भ गर्दै मन्त्री अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि काम सुरु भएको जानकारी दिएकी हुन् ।

स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भै सकेकोले आगामी दिनमा स्याउ कृषकलाई बिरुवाको अभाव नखड्कीने मन्त्री अर्यालले बताइन् । जिल्ला भित्रका प्रतिनिधिहरुले आफ्नो भूमिका उत्कृष्ट तवरले निर्वाह गरेको बताउँदै मन्त्री अर्यालले आगामी दिनमा जिल्ला कृषि तथा पशुपंक्षीको उत्पादकत्व बढाउने कार्यका लागि आफ्नो उपस्थिति र भूमिका मजबुत बनाउन आग्रह गरिन् ।

जोमसोममा स्याउका बिरुवा कृषकलाई हस्तान्तरण गरेर कृषिमन्त्री अर्यालले विरुवा वितरण कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।

स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका बिरुवा वितरण गर्न लागेको स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताइन् ।

९ हजार २ सय ३० बिरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा आज ६ हजार २ सय ४० विरुवा वितरण गर्न लागिएको वरिष्ठ अधिकृत थापाले बताए ।

जिल्ला भित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङ मार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर बितरण गरिएको हो ।

संघीय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार १ सय ७० रुपैंया खर्च लागेको छ ।

संघीय सरकारको बजेटमा मुस्ताङ जिल्ला भित्र २ करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिंचाई लगायतका कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङका बरिष्ठ कृषि अधिकृत शुधिर थापाले बताए ।

 



प्रतिक्रिया दिनुहोस !