६ बैशाख २०८१, बिहिबार

२०७७ साल सुखद रहेन : उपराष्ट्रपति पुन

प्रकाशित मिति :  14 April, 2021 10:59 am


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले २०७७ साल सुखद नरहेको बताएका छन् ।

नयाँ वर्ष २०७८ सालको शुभकामना व्यक्त गर्दै विभिन्न कारणले वि.सं. २०७७ उत्साह र उमंगको वर्ष हुन नसकेको बताएका हुन् । उनले भनेका छन्,“ वि. सं. २०७८ शुभारम्भसँगै हामीले वि. सं. २०७७ लाई विदाई गरेका छौं । बितेको वर्ष हाम्रा लागि सुखद रहन सकेन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी)बीच स्वागत गरिएको २०७७ साल भरी हामीले महामारीको असर भोगिरह्यौँ ।”

अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले महामारीकै कारण लाखौं लाख विद्यार्थीहरुले विद्यालयको कक्षा कोठामा पुग्न नपाएको समेत स्मरण गरेका छन् ।

देशको राजनीतिक अवस्था संकटपूर्ण अवस्थामा पुगेर लयमा फर्कियो उपराष्ट्रपति पुनको निष्कर्ष छ ।

अहिले अपेक्षा विपरित २०७८ लाई स्वागत गर्दै गर्दा देशमा कोरोना भाइरसको दोस्रो लहर तीव्ररुपमा फैलिरहेको भन्दै उपराष्ट्रपति पुनले जस्तोसुकै प्रतिकुलता, कठिन परिस्थिति र पीडामा पनि मुस्कुराउन सक्ने हामी नेपालीको विशेषता भएको बताएका छन् ।

उनले भनेका छन्,“विषम परिस्थितिका बीच हाम्रो घर आँगनमा आइपुगेको नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपमा पालना गरेर हर्षका साथ मनाउनु हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा आग्रह गर्दछु ।”

कोराना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकुलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने आफूले विश्वास लिएको उपराष्ट्रपति पुनको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !