१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

प्रकाशित मिति :  14 April, 2021 11:18 am


काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाले समर्थन फिर्ता लिँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारेको छ ।

आज जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका छन् । जनमोर्चाको घोषणासँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् ।

अध्यक्ष के.सी.ले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौँ, त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौँ । गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ । गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।”

गुरुङ नेतृत्वको सरकार ढलेपछि नयाँ बन्ने सरकारमा पनि जनमोर्चा सहभागी नहुने अध्यक्ष केसी स्पष्ट पारेका छन् ।

उनले भनेका छन्,“मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेका जुन आए पनि त्यो उनीहरुबीच बन्ने समीकरणको कुरा हो । त्यसमा हाम्रो समर्थन रहने छ । तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ ।”

अध्यक्ष केसीले प्रधानमन्त्री केपी ओलीको पनि राजीनामा मागेका छन् । राजनीतिक अन्योलको स्थितिको अन्त्यका लागि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु नै उपयुक्त रहेको केसीको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस !