८ जेष्ठ २०७९, आइतबार

भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएका परीक्षण मध्य ९२.६ प्रतिशतमा कोरोना पुष्टि,अस्पताल भरियो

प्रकाशित मिति :  18 April, 2021 12:32 pm


बाँके । नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालामा ८१ जनाको परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको यो रिपोर्टपछि भेरी अस्पतालले ‘कोभिड १९ संक्रमण आक्रमक रुपमा फैलिने क्रम जारी’ भनेको छ ।

प्रयोगशालामा ८१ जनाको पीसीआर परीक्षण गर्दा ७५ मा संक्रमण भेटिएको र यो संख्या परीक्षण गरिएको कुल संख्याका ९२.६ प्रतिशत हुन आउछ ।

अस्पतालले भनेको छ,“यी नमुनाहरू स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षण सहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले संक्रमणको दर यति उच्च आएको हो ।”

समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आवश्यक भएको उल्लेख गर्दै अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेको छ,“यसको निम्ति नेपाल सरकारबाट पर्याप्त रियाजेन्टर अन्य आवश्यक सामाग्री प्राप्त हुने र स्थानीय निकायहरूबाट नमुना संकलन गरि पठाइदिने हो भने परिक्षणको दायरा थप बढाउन भेरी अस्पताल हरदम तयार छ ।”

कोभिड महामारी सुरु भएपछि यस अस्पतालमा स्थापना गरिएको कोरोना बिशेष आइसोलेसन वार्डको १०२ बेड, शंकास्पद बिरामीलाई राख्ने ४० शैयाको प्रिआइसोलेशन गरि जम्मा १४२ बेड लगभग भरिएको अस्पतालले जनाएको छ ।

१५ शैयाको कोभिड आइसियू पनि भरिएको अस्पतालको भनाई छ । संक्रमण फैलिने क्रम नरोके अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै असफल हुन सक्ने भन्दै सचेत गराएको छ ।

अस्पतालले भिडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कामय गर्न तथा रुघारखोकी, ज्वरोका लक्षण देखा परेमा आइसोलेसनमा बस्न समेत अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !