२२ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा सदस्य निर्वाचनकाे तयारी तीव्र

प्रकाशित मिति :  29 December, 2019 12:00 pm


काठमाडाैं, १३ पुस

निर्वाचन आयोगले आफ्नो सम्पूर्ण ध्यान आगामी ९ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित गरेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति तयारीका काम तीव्ररूपमा अघि बढिरहेको र आयोगको सम्पूर्ण ध्यान अहिले उक्त निर्वाचनमा केन्द्रित रहेको आयोगका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए।

“निर्वाचनका लागि अब धेरै समय बाँकी नभएको र चुनावको मिति नजिकिँदै आएको सन्दर्भमा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो सबै ध्यान केन्द्रित गरेर आयोगले तयारीको कार्यक्रम गरिरहेको छ”, उनले भने।

उक्त निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेर आयोगले अभिमुखीकरणसमेत प्रदान गरिसकेको छ। यही १५ पुसमा सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। उक्त निर्वाचनका लागि २० पुसमा उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम हुनेछ।

उक्त निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई आयोगले चुनाव चिह्नसमेत प्रदान गरिसकेको छ। ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये एक तिहाइको प्रत्येक दुई वर्षमा पदावधि सकिन्छ।

आगामी २० फागुनमा पदावधि सकिने १९ जनामध्ये १८ सदस्यको निर्वाचनद्वारा चयन हुनेछ। एकजनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ।

आयोगले उक्त निर्वाचन प्रयोजनका लागि प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान केन्द्र तोकेको छ।

त्यस्तै, प्रदेश ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्ला वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन, सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल तोकिएको छ।

उक्त निर्वाचनका लागि सात प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६  गरी कूल जम्मा दुई हजार ५६ मतदाता कायम रहेका छन्। रासस



प्रतिक्रिया दिनुहोस !