२१ असार २०७९, मंगलबार

साढे ८ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गर्दै नेपाल बैंक

प्रकाशित मिति :  23 April, 2021 12:37 pm


काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल बैंक ऋणपत्र २०७८ निष्काशन गर्ने भएको छ । वैशाख २२ गतेदेखि बैंकले वार्षिक साढे ८ प्रतिशत व्याजदरमा बैंकले १० वर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।
सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।उक्त ऋणपत्रमा छिटोमा बैशाख २६ गतेसम्म वा आवेदन नपरेको खण्डमा ढिलोमा जेठ ५ गते सम्म आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्रमा लगानी गर्ने इच्छुक लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !