१५ बैशाख २०८१, शनिबार

टाेलटाेलमा अक्सिजन सिलिन्डर खाेज्दै प्रहरी, अस्पताल बाहेकका सिलिन्डर बुझाउन गृहको अपिल

प्रकाशित मिति :  7 May, 2021 7:37 pm


फाइल फोटो

काठमाडौं ।

गृह मन्त्रालयले अस्पताल प्रयोजन बाहेकका प्रयोजनमा रहेका अक्सिजन सिलिन्डर प्रहरी प्रशासनलाई बुझाउन अपिल गरेको छ । कोभिड संक्रमितको उपचारका लागि अभाव भइहरेका सिलिन्डरको आपूर्ति सहज गर्न यस्तो आव्हान गरिएको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै गृहले कोभिड उपचारको लागि यसको अभाव हुन नदिन र आपूर्तिलाई सहज बनाउन विभिन्‍न उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराउन अपिल गरेको हो ।

गृहकाे निर्देशनमा जिल्ला जिल्लामा प्रहरी टाेलटाेलमा अक्सिजन सिजिन्डर खाेजी कार्य गरिरहेका छन् । सुक्रबार मात्र महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा ललितपुर जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन अवस्थामा रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु संकलन गरिएको छ ।

अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई सुधार गर्न गृहको संयोजकत्वमा सरकारी निकायहरु सक्रिय बनेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्‍न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको छ।

प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतः स्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा भईरहेको पनि मन्त्राललयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्‍न जिल्लाहरुबाट सुक्रबार मात्र एक हजार ८१६ थान अक्सिजन सिलिण्डर संकलन भएको छ अक्सिजन स्वतःस्फुर्त रुपमा उपलब्ध गराउने सबैलाई मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ ।

जम्मा हुन आएका अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्‍नता र समन्वयमा वितरण गरिएको जानकारी दिइएको छ ।

प्रयोगविहीन अक्सिजन सिलिन्डर खोज्दै प्रहरी, ललितपुरमा १५९ थान सिलिन्डर संकलन



प्रतिक्रिया दिनुहोस !