८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि लुम्बिनीमा दुईजनाको उम्मेदवारी

प्रकाशित मिति :  18 May, 2021 5:38 pm


दाङ । राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ ।

यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । उनी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काङ्ग्रेसमा थिए ।

दुबै जनाले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकारी निमराज भट्टराईले बताए । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४, माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ छन् ।

यसैगरी प्रदेश सभामा एमालेका ४१ सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने अम्बरबहादुर डाँगीले राजीनामा दिएका छन् ।

यस्तै कांग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६ छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् । प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस !