२१ बैशाख २०८१, शुक्रबार

८१ वर्षे उमेरमा कोरोना जित्दाको मेरो अनुभव

प्रकाशित मिति :  22 May, 2021 1:11 pm


आजभन्दा एकमहिना अघि मलाई कोभिड – १९ को संक्रमण भएको पत्ता लागेको थियो । मेरो निवास धुम्बाराही पिपलबोट नजिक छ । श्रीमती विजया (६८ वर्ष) दुई छोराबुहारीहरु, नाति नातिनीसहित  सगोलको परिवार छ ।

सचेत रहँदा- रहँदै पनि कहाँबाट कोरोनाको संक्रमण हुन पुग्यो, थाह भएन । सामान्य रुघाखोकी लागेपछि तीन दिनसम्म पर्खिरह्यौँ तर पनि निको नभए पछि नजिकको ह्याम्स अस्पतालमा जाँच गराउँदा कोभिड संक्रमण भएको पत्ता लाग्यो । रुघा निको नभएपछि उमेर अवस्थाका कारण नजिकैको हयाम्स भर्ना हुन पुगेँ ।

त्यति बेलासम्म परिवारका अन्य सदस्य विजया, कान्छी बुहारी ठूलो छोरा सुदीपलाई पनि एकपछि अर्का गर्दै कोभिड संक्रमण भएको प्रमाणित भयो । तीन दिन अस्पताल बसेपछि मलाई अस्पतालले डिस्चार्ज गरिदियो । निजी अस्पताल भएकोले हुनुपर्छ तीन दिनको बसाईमा १ लाख रुपैयाँ भन्दा धेरैको बिल आएको थियो ।

अवस्था सामान्य नै थियो । अक्सिजनको मात्रा कम (८८) भएकोले अस्पताल पुग्नु परेको हो ।  तीन दिन अस्पताल बस्दा दुई डोज रेमडेसिविर औषधी चिकित्सले लगाउनु भयो । त्यसपछि संक्रमणले त्यति गाल्न सकेन् । अक्सिजनको मात्रमा सामान्य लेभलमा आएपछि डिस्चार्ज    गरियो । अन्य सदस्य घरमै आइसोलेसनमा बसिरहे ।

यो रोग कुनै भर नभएको नै भन्नु पर्छ । त्यसका लागि उँचो आत्मबल राख्नु नै पहिलो उपचार हो । त्यसका अतिरिक्त शारीरिक अवस्था पनि हो भन्ने महसुस भएको छ । अहिलेको भयावह देख्दा हामीले अपनाएको सजगताले हाम्रो परिवारलाई संक्रमण भए पनि सिकिस्त बनाएन जस्तो लाग्छ । म आफै ८१ वर्ष उमेरको छु । मैले आफ्नो सजगता अपनाएका कुरा र मेरो दिनचर्या यहाँ बाँड्न गर्न चाहन्छु ।

म आफै आयुर्वेदको जानकार छु । दशकौंअघि बनारस अध्ययन क्रममा मैले आयुर्वेदको पनि अध्ययन गरेको थिएँ । त्यसैअनुसार घरमा स्वास्थ्य सर्तकता समेत अपनाउँदै उपयोगमा ध्यान दिने गरेको छु । यति बेला पनि त्यसैलाई निरन्तरता दिन सफल रहेँ ।

यस संक्रमित अवधिमा पनि बिहान उठ्नु, योग गर्नु, जडीबुटीको उपयोग गर्नु मेरो र हाम्रो परिवारको दैनिकी रह्यो ।

यस अवधिमा चिसो र फ्रिजका खानेकुराबाहेक अरु कुनै पनि वस्तु बारिएन । पर्याप्त झोल पदार्थयुक्त खाने कुरा खायौं । घरमै बसेर स्वास्थ्य सर्तकता अपनायौं ।

करिब २ हप्तापछि नर्भिक अस्पतालमा जाँच्दा संक्रमणमुक्त रहेको नतिजा आयो । यस अवधिमा हामीले अझै पनि स्वास्थ्य सर्तकता   अपनायौं । विहान तुलसी चिया खानु, लसुन र महको सेवन, मरटी (जडीबुटी) चिया दिउँसो पनि पिउनु हाम्रो नित्य बनेको छ ।

संक्रमित बिरामीहरुलाई पनि मेरो आफ्नो तर्फबाट आग्रह- विधिमा ध्यान दिने । अक्सिजन नापी रहने । अक्सिजनको मात्रा कम भयो भने अस्पताल गइहाल्ने । छ, घरेलु चिकित्सकको सल्लाह र सुझावलाई मानेर उच्च मनोबल कायम गर्नु नै उचित हो ।

साथै दीर्घरोगका सिकायत हुनेहरुले जति बेला पनि तातो पानी पिउने । अरुसँगको सम्पर्कमा आउन साथ साबुनपानीले हात धुने । सेनिटाइजरको प्रयोगमा ध्यान दिने ।

बिहान योग गर्ने । योगमा पनि कपालभाती, अनुलोम विलोम सहितका प्रणायम र अन्य आसनका साधना गर्ने । सकिन्छ १ घण्टा प्रातकालमा, आधा घण्टा सन्ध्याकालमा । त्यसले पक्कै पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

म आफू ८१ वर्षे उमेरमा कोरोना परास्त गर्न सक्नुमा उच्च मनोबल, योगको नित्य कर्म, घरेलु जडीबुटीको उपयोग र उचित समयमा अस्पताल पुग्नु र चिकित्सक सल्लाह र सुझाव हो जस्तो लाग्छ । म आफू सेवानिवृत जीवन बिताइरहेको छु ।

करिब ३० वर्ष निजामति सेवामा सह-सचिव भएर सेवा अवकास भएको हुँ । त्यसपछिको जीवनमा विदेश पनि पुग्ने अवसर पनि रहे । त्यहाँ पुग्दा पनि नित्य आफ्ना कर्मलाई निरन्तरता दिइरहेँ ।

अहिले संक्रमित रहँदा पनि ती व्यायाम, योग साधना लगायतका कर्मलाई निरन्तरता दिइरहेको छु । त्यसैले गर्दा पनि संक्रमित हुँदा पनि मुक्ति पाउन सफल रहे जस्तो लाग्छ । साथै, मनमा आउने सोचलाई सकारात्मक बनाउन उत्तिकै आवश्यक रहन्छ भन्ने संक्रमित कालको मेरो अनुभव रह्यो ।

अन्यजनलाई पनि उच्च स्वास्थ्य सर्तकता अपनाएर स्वस्थ जीवनशैली अपनाउन मेरो आफ्नो आग्रह छ ।

 



प्रतिक्रिया दिनुहोस !