७ बैशाख २०८१, शुक्रबार

निजी क्षेत्रमा लोगो प्रयोग गर्ने पहिलो बन्यो काभ्रेको हिमालयन डेरी

प्रकाशित मिति :  18 June, 2021 1:10 pm


काठमाडौं । निजी डेरी उद्योगमा पहिलो पटक प्रतिक चिन्ह प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर काभ्रे भएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले आज डेरीलाई लोगो प्रदान गरेको हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा असार २ गते प्रतीक चिन्ह प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो ।

बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले विभिन्न उद्योगबाट प्रतीक चिन्ह प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुराएर लोगो वितरण गर्दै जाने बताए ।

पहिलो चरणमा संस्थानलाई प्रतीक चिन्ह प्रयोगको अनुमति दिइएको थियो ।

प्रक्रिया सहित निवेदन आएपछि थप निजी क्षेत्रका डेरी उद्योगहरूलाई पनि मागका आधारमा प्रतीक चिन्ह हस्तान्तरण गर्दै जाने योजना रहेको बोर्डका कार्यकारी निर्देशक यादवले जानकारी दिए । अब प्रतीक चिन्ह अंकित दुग्धजन्य पदार्थ बोकेका गाडी निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने उनको भनाई छ ।

बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा आवश्यक परीक्षण गरेर बोर्डको मिति २०७८ जेठ ३० को निर्णय अनुसार दुग्ध विकास संस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो)उपलब्ध गराउने निर्णय भएको थियो ।

गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह सार्वजनिक गरेका थिए ।

प्रतीक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिएमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सनुश्चित हुने विश्वास लिईएको बोर्डका कार्यकारी निर्देशक यादवले बताए ।

कृषकहरूबाट उत्पादित दूधलाई प्रशोधन, भण्डारण तथा वजारीकरण गर्दा दूधमा पाईने सम्पूर्ण पौष्टिकतत्वहरुको संरक्षण गर्न दूधलाई चिसो तापक्रम ९४⁰ सेन्टिग्रेड कायम हुने गरी राख्नु पर्ने हुन्छ ।

किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दुधका गाडि देशभर आवात जावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो ।

ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको हो ।

कार्यक्रममा प्रतीक चिन्ह उपयोगिताबारे प्रष्ट पार्दै विश्वमै यस्तो खालको लोगो बनाउने नेपाल पहिलो भएको कार्यकारी यादवको भनाई छ ।

महत्वपूर्ण कार्य गरेकोमा बोर्डलाई धन्यवाद दिदैं एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले दूध के हो र यसको महत्वको बारे प्रष्ट पारेका थिए । कार्यवाहक सचीव डा. निर्मलले अब देशै भरी यसरी नै लोगो बितरण गर्दै जाने र यसको जानकारी सम्बन्धित सरोकारवाला, सुरक्षा निकाय लगायत आवश्यक अन्य सबै स्थानमा गराउँदै जाने कुरा बताए।

मेयर खरेलले अति आवश्यक बस्तु ओसारपसार गर्न यसरी लोगोको प्रयोग गर्नु अति आवश्यक भएको बताए । उनले भने,“बालकदेखि वृद्धासम्म नभइ नहुने दूध जस्तो पवित्र चिजलाई हामी सबै मिलि आवश्यक सहयोग गर्नुपर्छ र अब यो लोगोको विषयमा व्यापक प्रचारप्रसार आवश्यक छ ।”

नेपाल डेरी एसोसिएशनका महासचिव प्रल्हाद दाहालले बोर्डले सुरू गरेको लोगो वितरण कार्यको प्रशंसा गर्दै यसको य्रयोगमा एसोसिएसनको पूर्ण साथ रहने बताउँदै लोगोको प्रयोगलाई देशव्यापी विस्तार गर्दै ढुवानी सहज बनाउनु पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !