१६ चैत्र २०८०, शुक्रबार

शैक्षिक पर्यटनको आकर्षक गन्तव्य बन्दै रोल्पाको बालकल्याण नमुना मा.वि.[फोटो फिचर ]

प्रकाशित मिति :  19 June, 2021 10:50 am


उमा केसी-

रोल्पा । चार वर्ष अघि शिक्षा मन्त्रालयले नमूना विद्यालयको रुपमा छनौट गरेको रोल्पाको बालकल्याण नमुना माध्यमिक विद्यालय शैक्षिक र पर्यटन गन्तव्यको केन्द्र बन्न थालेको छ ।

विद्यालयको वाह्य वातावरण हेर्न तथा विद्यालयले हासिल गरेको शैक्षिक उपलव्धीबारे जानकारी लिन देशका विभिन्न विद्यालय तथा स्थानीय तहबाट अवलोकन भ्रमण गर्नेको भिड लाग्ने गरेको छ ।

यो विद्यालयको अर्को महत्वपूर्ण विशेषता भनेको नेपाली राजनीतिका अति विशिष्ट व्यक्तित्वदेखि प्रभावशाली नेताहरू उत्पादन पनि हो । विद्यालयमा उपराष्ट्रपति नन्दवहादुर पुन, पूर्व सभामुखद्धय कृष्णवहादुर महरा र ओनसरी घर्ती, पूर्व अर्थमन्त्री वर्षमान पुन र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूले अध्ययन/अध्यापन गरेका थिए ।

पूर्वप्रहरी अतिरिक्त महानिरिक्षक देवेन्द्र सुवेदी, पूर्वसहसचिव बालकृष्ण सुवेदी लगायत प्रहरी सेवा र निजामती तथा स्वास्थ्य सेवाका समेत उच्च पदस्थ कर्मचारीहरूले यसै विद्यालयमा अध्ययन गरेका थिए । यसलाई समेत जोडेर विद्यालयलाई शैक्षिक गन्तब्यको रुपमा विकास गर्न सकिने अवसर विद्यालयलाई छ ।

ओझेलमा परेको विद्यालय पछिल्ला दिनमा गरिएको शैक्षिक सुधारसँगै जिल्लाको नमूना विद्यालय वन्न सफल भएको अभिभावकहरुको वुझाई छ ।

विद्यालयमा हाल २ हजार ६ सय विद्यार्थीले अध्ययन गर्छन । नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा विषयमा पढाई हुन्छ । सिभिल इन्जिनियरिङ तर्फ ३ वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमा तहमा पढाई हुने गर्दछ ।

नेपाल सरकारले उपलव्ध गराएको १८ स्थायी, ८ करार सहित २४ जना शिक्षक कर्मचारी समेत विद्यालयले आफ्नै श्रोतवाट समेत ६३ शिक्षक कर्मचारी बालकल्याण विद्यालयमा कार्यरत रहेका छन् ।

विद्यालयमा दृष्टिविहीन तथा सुस्त श्रवण भएका बालबालिकाले पनि अध्ययन गर्छन ।

विद्यार्थीको सुविधालाई ध्यान दिदै विद्यालयले यसै शैक्षिक सत्रदेखि स्कुल वससमेत व्यवस्था गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले जानकारी दिए । उनले भने,“अघिल्लो शैक्षिक सत्रमा आईपुग्नु पर्ने बस कोरोनाका कारण आउन सकेको छैन, अवस्था खुकुलो हुने वित्तिकै आई पुग्छ ।”

विद्यालयले ५ वर्ष भित्र स्नातक तहको पठन पाठन समेत सुरु गर्ने योजना बनाएको छ । “त्रिभुवन विश्वविद्यालय वा काठमाण्डौ विश्वविद्यालयको सम्बन्धनमा पढाई सञ्चालनबारे छलफल गरिरहेका छौं,” अध्यक्ष न्यौपानेले भने ।

विद्यालयको प्रशासनिक नेतृत्व प्रध्यानाध्यापक मधुसूदन पोख्रेलले गरिरहेका छन् भने व्यवस्थापकीय नेतृत्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !