२२ बैशाख २०८१, शनिबार

साना किसानको जीवनस्तर उकास्न यान्त्रीकरणमा जोड

प्रकाशित मिति :  22 June, 2021 6:07 pm


काठमाडौं । ग्रामीण कृषि प्रवद्र्धन तथा साना किसानको जीवन उकास्न कृषि यान्त्रीकरण गरिनुपर्नेमा विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।

साना किसानको पहुँच नीतिगत तहमा पुर्याउनु पर्नेमा जोड दिइएको हो । साना किसान र निर्वाहमुखी खेतीका कारण किसान झन् गरिब बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सरोकारवालाले साना किसान समृद्ध नभएसम्म कृषिको विकास सम्भव नभएको धारणा व्यक्त राखेका हुन् ।

अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२१ को सन्दर्भमा मंगलबार राष्ट्रिय कृषक समूह महासंघसमेत राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले संयुक्त रुपमा आयोजना गरिएको ‘दिगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदान’ विषयक प्रदेश २ स्तरीय भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरु सो धारणा व्यक्त गरेका छन् ।

प्रदेश नं. २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले साना किसानको समग्र विकास नभएसम्म नेपाली समाजको विकास नहुने बताए । नीति निर्माण गरेर मात्र नभइ कार्यन्वयन हुनुपर्नेमा उनको जोड ।

“प्रदेश २ को नीति आयोगमा छु, सरकारलाई कृषिसँग थुप्रै विषयमा नीतिगत सुझाव दिएको तर कार्यान्वयन पक्ष निकै कमजोर रहेको हामाीले पाएका छौ,” उनले भने, “सीमान्तकृत किसान, भूमि किसानका लागि मुलभूत समस्या छ, कृषिमा सरकारले दिने सेवा सुविधा असली किसानले पाएका छैनन् ।”

प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.सम्झाना कुमारी काफ्ले कृषिको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने तर त्यसका लागि यान्त्रिकीकरणको आवश्यकता पर्ने गरेको बताइन् ।

उनले कृषिमा यान्त्रिकीकरणको आवश्यकता बढी रहेको अवस्थामा त्यसको अभाव देखिएको बताइन् । साना किसान तथा निर्वाहमुखीलाई व्यवसायीककरण गर्नका लागि यान्त्रिकीकरणमा विशेष जोड दिनुपर्ने बताइन् ।

“हरेक स्थानीय तहमा प्राविधिक राख्नुपर्ने कुरा सरकारले निर्णय गरे पनि जनशक्तिको अभावमा त्यति पुग्न नसकेको कुरा सत्य हो, तर जेजति पुगेका छन् आफ्नो क्षमता अनुसार काम गरिरहेका छन्,” उनले भनिन् ।

मन्त्रालयका योजना महाशाखा प्रमुख ललनकुमार सिंहले कृषिको वजार प्रणाली सुधारका लागि सरकार लागि परेको बताउँदै किसानले आफ्नो उत्पादनको आफै मूल्य निर्धारण गर्न सकिने गरी कार्यक्रमहरु बनाउन लागेको दाबी गरे ।

भएका कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने विषयमा पनि सरकारले योजना बनाइरहेको बताउँदै उहाँले सरकारद्वारा सञ्चालित कार्यक्रममा सम्पूर्ण किसानलाई कसरी सहभागी गराउने विषयमा पनि सरकारले काम गरिरहेको बताए ।

राष्ट्रिय कृषक समूह महासंघ प्रदेश २ का अध्यक्षत मुक्तिनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु अजय शाह, अर्जुन थपलिया लगायते प्रदेश २ को कृषि अवस्थाको बारेमा धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !