बलत्कारको प्रतिकार गर्दा दक्षिणकाली जंगलमा सन्तोषीको हत्या, एक जना पक्राउ
काठमाडौं । दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली नगरपालिका–७ बस्ने २९ वर्षको सुरेश तिमल्सिना पक्राउ परेका हुन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सुव्बाको असार ८ गते दक्षिणकाली नगरपालिका वडा नं. ७ दक्षिणकाली मन्दिर स्थित जंगल परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा पछाडि हत्या भएको थियो ।
घटना कसरी भयो ?
असार ६ गते मृतक सन्तोषी सुब्बाले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएकी थिइन् । त्यसपछि तिमल्सिनाले खाना र सुत्ने व्यवस्था आफूले काम गर्ने बसमा मिलाइदिन्छु भनेर आश्वासन दिएको खुलेको प्रहरीले जनाएको छ ।
पछि जगंलमा पुराएर जबरजस्ती गर्ने क्रममा मृतक सन्तोषी सुब्बाले प्रतिकार गरेको र तिमल्सिनाले घाँटी थिची मृतकको सलले घाँटीमा बेरी हत्या गरेर ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार भएको महाशाखाको दाबी छ ।
तिमल्सिना काठमाण्डौ–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी गरिएको प्रहरीको भनाई छ । सुव्बा विभिन्न जनावरको आवाज निकालेर युट्युबमा चर्चित थिइन् ।








