१७ श्रावण २०७८, आईतवार

कोठाभाडाका नाममा

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार १८:५२


केही दिनयता दलित भएकै कारण कोठा भाडामा नपाएको बहस चर्किएको छ । दलित भएको कारणले कोठा नपाउने सञ्चारकर्मी रुपा र तल्लो जात भएकै कारणले कोठा भाडामा नदिने सरस्वती अहिलेका प्रतिनिधि पात्र मात्रै हुन् । बिगतमा पनि यस्ता बहस नभएका होइनन् तर बहस हुने, भाईरल पनि हुने, अनि सेलाउने प्रचलन हावि छ । अर्को कुरा जातको प्रश्न संसारभर छ । जस्तो कि गोरा–काला, एसियन –अफ्रिकन्, धनी –गरीब, मधेशी–पहाडी, उचो–निचो यस्तै यस्तै ।

यति भन्दैमा यो कुरालाई यत्तिकै छाडिदिउँ भन्न खोजेको हाईन । कोठाभाडाको बिषय भनेको रुपा र सरस्वतीको मात्रै समस्या होईन । हाम्रो सोच, हाम्रो चिन्तन, हाम्रो सभ्यता, हाम्रो अहंकार, हाम्रो दम्भको उपज पनि हो । हाम्रो चेतना, हामीले दिने–लिने शिक्षा, हाम्रो ब्यवहार र हाम्रो सस्कारको उपजलाई पनि यसमा जोड्न सकिन्छ । थुप्रै खाले परिबर्तनको भीडमा गर्नै पर्ने परिबर्तन हाम्रो सोच र हामीले गर्ने ब्यवहार नै हो भन्दा अत्यूक्ति नहोला ।

रह्यो कुरा कोठाभाडाको । सामान्य हिसाबले बुझ्दा कोठा भाडामा दिने नदिने कुरा नितान्त घर धनीको स्वेच्छामा भर पर्छ । घरधनीले पनि त्यो घर बनाउन आफ्नो जिन्दगीभरको पसिना र मिहिनेत खर्च गरेको हुन्छ । हाम्रो बुझाइ पनि त्यस्तै खालको छ । जस्तो सुकै कमाई किन नहोस, उसले काठमाँडौमा घर बनायो र दुईचार जना मान्छे अघिपछि राखेर महंगो गाडीमा शयर गरेको देख्ने बित्तिकै उसलाई समाजले हेर्ने नजरीया नै फरक हुन्छ । उसले पाउने मानसम्मान फरक हुन्छ, किनकि हामीकहाँ भौतिक सम्पत्ति र पैसालाई प्रतिष्ठासँग हेर्ने प्रचलन छ । यसको ठिक बिपरीत इमान्दार, स्वच्छ छबी बनाएको स्वावलम्बी मानिसलाई भने समाजले तुच्छ ब्यबहार देखाउँछ र उसको इमानमा प्रहार गरिरहन्छ ।

मलाई सम्झना छ, मेरो एक आफन्तको घरमा एक नाम चलेका राजनीतिज्ञ बस्थे । उनले राजनीति सँगै अरु ब्यवसायिक काम पनि गर्थे । उनकी श्रीमती जागीरे थिइन् । उनका तीनओटा बालबच्चा पनि थिए । त्यो घरमा उनीहरु बर्षौंसम्म बसे । घरधनीले उनलाई परिबारको सदस्यजस्तै गरी सहयोग गरे । सबैकुरा राम्रै थियो । आउजाउ सबै ठिकठाक थियो । एक दिन तीनै भाडामा बस्नेलाई घरको रेखदेख गर्ने जिम्मा लगाएर घरधनी काम बिशेषले केही दिनकोलागि बाहिर गएछन् । उनी घर नफर्किदै ती भाडामा बस्ने ब्यक्तिको परिवार घरधनीलाई कुनै सुर्इंको नदिइ १० महिनाको भाडा नतिरी घर सरेछन् । त्यसयता ती घरधनीले कोठा कहिले भाडामा लगाएनन् ।

यस्तो अर्को घटना डेरावालको पनि छ । काठमाडौंमा सरदर ४० लाख मानिस बस्छन् भनिन्छ । ती मध्ये कति भाडामा बस्छन् भन्ने यकिन बिवरण छैन । त्यसो त भाडामा बस्नु पर्ने बाध्यता काठमाडौंमा मात्रै होईन । काम बिशेषले दुर दराजमा गए पनि घरभेटी र डेरावालबीच यस्तै समस्या हुन्छ । जति गाउँमा गयो जातको प्रश्न त्यति धेरै आउँछ ।

खैर, काठमाडौंकै कुरा गरौ । काठमाडौंमा कोठा भाडामा लगाउने तीन समुह छ । एउटा समुह काठमाडौंकै रैथाने, अर्को समुह काम बिशेषले काठमाडौं आउने पैसा कमाएर घर बनाउने र भाडामा लगाउने, अनि अर्को समुह भनेको ब्यवसायिक । यो समुह मध्ये तपाई कुन समुहको प्रतिनिधित्व गर्ने घरमा जानु हुन्छ । घरधनीको ब्यवहार त्यहिबाट शुरु हुन्छ ।

रुपा त कथित तल्लो जात भएकै कारणले कोठा पाईनन् रे । पहुँच नहुने दुर दराजबाट काठमाडौं आउने माथिल्लो जातको छोराले पनि छोरी भएको घरमा कोठा भाडामा पाउन मुस्किल छ । छोरीको त कुरै छोडांै । यो मधेशी रैछ, यो पहाडीया रैछ, यो दलित रैछ, बाहुन रैछ, यसले यस्तो काम गर्दो रहेछ यस्तै यस्तै कुरा घरभेटी–घरभेटीबीच छतबाटै ओहोरदोहोर हुन्छन् ।

केही महिना पहिले दुई महिना लगाएर एकजना भाईले थापागाउँमा कोठा भेटेछन् । त्यो पनि सातामा एकचोटी पानी आउने घरमा । पानी त आधारभुत सुबिधा हो भने भाडा बुझाएपछि घरधनीले २४ सै घण्टा उपलब्ध गराउनै पर्ने कुरा झन अनिबार्य शर्त हो । उसैपनि बिद्यार्थी मान्छे, कहिले त्यही बेलामा क्लास हुन्छ । कहिले भर्ने पालो नआई पानी सुक्छ । भर्ने पालो आएन भने ट्वाइलेट जाने पानी समेत नहुने भन्दै ती भाईले दुःख सुनाएका थिए ।

हाम्रो राजधानी यस्तै छ । बल्ल बल्ल कोठा पायो भने पनि सामान्य आधारभुत सुबिधा समेत पाईदैन । कति घरमा लुगा धोएर सुकाउने ठाउँ हुँदैन । कतिपय ठाउँमा पानीको हाहाकार । कतिपय घरमा ढलको समस्या छ । कति ठाउँमा पार्किङ हुँदैन । कतिपय घरभेटीको झगडाले भाडामा बस्नेहरु वाक्क भएका हुन्छन् ।

मुख्य कुरा त घरधनीले कोठाको भाडा महंगो लिन्छन् । अझै कतिपयले त त्यसमा पानी, बिजुली, फोहोर, इन्टरनेट सबैको छुट्टै शुल्क पनि एड गर्छन् तर अधिकांश घरधनीले घरबहाल कर नै बुझाउँदैनन् । केही बर्ष पहिले मेरो एकजना साथी विदेश जाने तयारीमा थिईन् । उनका श्रीमान सरकारी क्याम्पसका जागिरे थिए । सरकारी जागिरेलाई आफु बसेकै ठाउँबाट कागजात बनाउने सुबिधा पनि छ । उनलाई अत्यावश्यक कागज चाहियो । अस्थाई बसोबास भएकोले उनले घरभेटीसँग घर बहालको सम्झौतापत्र मागिन् । उनी त्यो घरमा बसेको त्यस्तै ३ बर्ष भएको थियो क्यारे, तर घरभेटीले उनलाई सम्झौता दिन मानेनन् । कारण थियो उनी घरबहाल कर तिर्दैन रहेछन् । उल्टै सम्झौता दिनु प¥यो भने उनी बसेदेखिको बहालकर स्वयंले तिर्नु पर्ने भनेछन् । साथै आउने दिनमा समेत लिदै आएको भाडाको १० प्रतिशत बढाउने प्रतिक्रिया दिएछन् ।

अझै पनि ब्यवसायिक प्रयोजनकालागि बाहेक कोठा भाडामा बस्नेसँग घरधनीले कुनै कागजी सम्झैता गर्दैनन् । गरेपनि घरधनीले आफ्नो स्वार्थ हेर्छन् । भाडामा बस्नेहरु भागे भने तीनपुस्ते नालीबेली खोज्नकालागि मात्रै । भाडामा बस्नेलाई सधै बिचारा देख्छन् तर भाडा तिरेन भने जस्तोसुकै असहज अवस्थामा पनि छोड्दैनन् ।

गत वर्षकै कुरा हो । काम विशेषले या अध्ययनकालागि राजधानी छिरेकाहरु कोरोनाका कारण कोठा बन्द गरेर आ–आफ्नो घर फर्किए । महिना मरेपछि म बस्ने घर नजिकैको पाँच तले घरकी बृद्ध आमाले छतमा बसेर डेरावाललाई पालैपिच्छे फोन गर्दै भाडा मागिन् र नदिने भए कोठा खाली गरिदिन दबाब दिईन् । ती भाडामा बस्नेहरु कस्तो अवस्थामा छन् ? आएपछि दिन्छन् भन्ने हेक्का ती बृद्ध आमामा पनि देखिएन । अर्को, उनीहरुबीच कुनै कागजी सम्झौता थिएन । सम्झौता नभएपछि घरवालाले के गर्न हुने/नहुने, डेरामा बस्नेले के गर्न हुने ÷नहुने भन्ने कुरै भएन ।

यसरी कागजी सम्झौता बिना घर भाडामा दिने÷लिने काम सायद नेपालमा मात्रै होला । अन्य मुलुकले घर भाडामा लिने दिने बिषयलाई ब्यवसायिक तरिकाबाट हेर्छन् । कर पनि सोही अनुरुप नै तिर्छन् । नियमले मिल्ने कुरा गर्छन् नमिल्ने कुरा गर्दैनन् । भाडामा दिने मानिस कुन जातको हो ? के गर्छ ? को आयो ? को गयो ? कति जना बसे ? के खाए ? के लाए ? यावत कुराको कुनै मतलवै हुँदैन । पैसा तिरेर बसेपछि सानसँग बस्छन् । बसुन्जेल त्यो घर आफ्नै ठान्छन् । अग्रिम भुक्तानी, अग्रिम सुचनाका कुराहरु पनि कम्पनी या घरधनी, डेरावालबीच पहिले नै हुन्छन् ।

केही बर्ष पहिले मेरो साथीको दिदी काठमाडौंंमा बस्नुहुन्थ्यो । बानेश्वरमा साढे तीन तल्ले घर थियो । भेट भएको बेला हामीपनि कहिलेकाँही जान्थ्यौ । रमाईलो पनि गथ्र्यौ । उहाँले पनि अरु घरधनीले जस्तै मुनीका दुई ओटा फ्लाट भाडामा दिनु भएको थियो । मुनीको तलामा बिद्यार्थी भाइबहिनीहरु बस्थे । उनीहरुले भाडा नतिरेको दुई महिना भएको रहेछ । समयमा भाडा तिर्न नसकेपछि एकदिन बिद्यार्थी भाई बहिनीहरुले चलाखी गरेछन् ।

घरभेटीको छोराछोरी नभएको मौका पारेर कलेजको ग्याङ बनाएर घरभेटीकोमा गएर ती घरभेटीलाई मुर्छा पर्नेगरि कुटेछन् । पछि यता उताका मानिसहरु भेला भए । पुलिस आए । त्यहाँ पनि कचहरी बस्यो । केही समय बिद्यार्थी ग्याङलाई प्रहरीले हिरासतमा लियो । घाइते घरभेटी अस्पताल पुगे । भोली पल्ट दुबै पक्षलाई सामान्य मेलमिलाप गराएर प्रहरीले छोडिदियो । भाडामा बस्नेहरु भाडा नै नतिरी त्यो घरबाट सरे ।

घर हुँदैमा सबै सम्पन्न छ भनेर सोच्नु पनि गलत हो । घर नभएकै भरमा अमानवीय ब्यवहार देखाउनुपनि गलत हो । पहँुच र पावरका भरमा जे गरेपनि हुने भन्ने प्रबृति हामीकहाँ छ । जसका कारण डेरा पाउनुु, डेरामा बस्नु, डेरा लगाउनु सबै कुरा सकसपूर्ण नै छन् ।

अफिसियल प्रयोजनकालागि घर भाडामा लिँदा या पुरै घर भाडामा लिँदा सम्झौता गरे पनि एउटा दुई वटा कोठामा या फ्ल्याटमा बस्नेहरूसँग सम्झौता गर्ने प्रचलन छैन । न कुनै आचारसंहिता, न सम्झौता ।

ब्यक्तिगत चिनजानका आधारमा लिनेदिने गरिएका कारण कुनै पनि बेला निकाल्न र छोड्न सक्ने अवस्था पनि आउन सक्छ ।

कुनै नीति, नियम, कानून नभएका कारण एउटा मान्छेले छोड्नेबित्तिकै भाडा बढाउने चलन पनि त्यतिकै छ । कुन साइजको कोठाको भाडा कति लिने, पैसा लिएपछि के के सुबिधा दिने भन्ने पनि स्पष्ट छैन । यसो हुँदा राज्यले पाउनु पर्ने अर्बौं राजस्व पनि गुमेको छ । यसतर्फ राज्यको ध्यान गएको पाईंदैन । डेरामा बस्नेले पाउने सुबिधा पाएका छैनन् भने घरधनीले अनेक लाल्छनाको सामाना गरिरहेका छन् ।

बुझ्नु पर्ने कुरा के हो भने कोरोनाका कारणले नेपालमा बिद्युतीय कारोबारले प्राथमिकता पाएको छ । केही बर्ष पहिले घरभेटी र डेरावालसँग सम्झौता गर्ने भनेर नेपाल सरकारले एउटा नियम बनाएको थियो त्यो नियमपनि कहाँ छ कसरी लागु भैरहेको छ अत्तो पत्तो छैन । दलित भएका कारण मात्र नभई विभिन्न बहानामा सहज रूपमा कोठा नपाउनेको जमात ठुुलो छ । दलित भन्नेलाई कोठा नदिने जमात पनि ठुलो छ भने ठुला ठुला महल बनाएर भाडामा दिएर आफुपनि भाडामै बस्ने जमात पनि उत्तिकै छ ।

बिभिन्न आरोह अवरोहहरु पार गर्दै डेरामै लामो समय बिताएका ब्यक्तित्वहरु राज्यको बिभिन्न नेतृत्वतहमा पुगिसकेका छन् । घर भाडामा दिने कुरा काठमाडौंमा मात्र नभई अन्य मुख्य शहरमा समेत ब्यवस्थित गर्नु पर्ने आजको आवश्यकता हो । किन कि पैसा तिरेर बस्ने कुनै पनि मानिसले कुनै विभेदबिना बस्न पाउनुपर्छ । त्यसैले घरभाडा र घर भाडामा लिने–दिने कुरालाई व्यवस्थित गर्नका लागि उचित कानुन निर्माण र भएका कानुनको कार्यान्वयनको टड्कारो आवश्यकता छ ।

जसले समाजमा कुरिती, अन्धविश्वास विरुद्ध आवाज बुलन्द पार्न सहयोग पु¥याउँछ । देखावटी परिवर्तन र संरचनाले मात्रै समाज रुपान्तरण हुँदैन रहेछ भन्ने बुझ्न अब ढिलाई नगरांै । सोचसँगै ब्यवहार पनि परिबर्तन गरौं ।

 



प्रतिक्रिया दिनुहोस !