१७ श्रावण २०७८, आईतवार

‘नेपाल सरकारको ‘एमएमएस स्कोरिङ’मा लुम्बिनी प्रदेशकै प्रथम अस्पतालको रुपमा स्थापित गर्‍यौं’

प्रकाशित मिति :  १३ असार २०७८, आईतवार ०९:५३


अस्पतालको अवस्था कस्तो छ ?

अर्घाखाँची अस्पतालको अवस्था सन्तोषजनक जनक छ, प्रगतिशिल छ, आशामुलक र व्यावस्थित छ । कोरोनाका बिरामीलाइ उच्च जोखिमयुक्त विरामी उपचार कक्ष (एचडीयू/आईसोलेसन) सञ्चालन गरि उपचार गरिएको छ भने अन्य विरामीलाई दैनिक बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन गरिएको छ । अहिलेसम्म १२ बेडको उच्च जोखिमयुक्त विरामी उपचार कक्ष (एचडीयू) र १२ बेडको जनरल गरि २४ बेडमा २५५ जना कोरोना संक्रमित बिरामीहरूलाई भर्ना गरि उपचार दिई सकिएको छ ।

कोरोना नियन्त्रणका लागि स्थानीय, केन्द्र, प्रदेश सरकारबाट कस्तो सहयोग रह्यो?

सबै तहका सरकारहरू संघ, प्रदेश र स्थानीय तहबाट राम्रो सहयोग प्राप्त भएको छ । विशेषगरि प्रदेश सरकारबाट उल्लेखनीय सहायो प्राप्त भएको छ । अक्सिजन प्लान्ट, सघन उपचार कक्ष (आईसीयू) को लागि केन्द्र सरकारको सहयोग रह्यो भने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) अक्सिजन तथा अन्य स्वास्थ्य सामाग्रीहरू प्रदेश सरकारबाट सहयोग भयो र उच्च जोखिमयुक्त विरामी उपचार कक्ष (एचडीयू) सञ्चालन गर्न थप जनशक्ति स्थानीय तहहरूबाट सहयोग भएको छ ।

कोरोना नियन्त्रणमा चुनौतीहरू के के रह्यो ?

कोरोना नियन्त्रणमा धेरै चुनौतीको सामना गर्नु पर्‍यो । गत वर्षको कोरोनाभन्दा यस वर्षको कोरोना फरक र कडा भेरियन्टको भएकाले नियन्त्रण गर्न कठिनाई भयो । सुरुवाती अवस्थामा वैशाखतिर अक्सिजनको अभाव, न्यून जनशक्ति, स्वास्थ्य सामाग्रीहरूको अभावको बीच हामीले उच्च जोखिमयुक्त विरामी उपचार कक्ष (एचडीयू) सञ्चालन गर्‍यौं ।

दिन–रात काम गरेर १२ वेडमा पाइपलाइन जडान (सेन्ट्रल अक्सिजन सप्लाइ) सहित उच्च जोखिमयुक्त विरामी उपचार कक्ष (एचडीयू) सञ्चालन गर्‍यौं । स्वास्थ्यकर्मीको अभाव, जनशक्तिको अभाव, अक्सिजन तथा स्वास्थ्य सामाग्रीहरूको अभाव, बिना सघन उपचार कक्ष (आईसीयू), बिना उच्चस्तरीय स्रोत साधनको आभावमा यति धेरै विरामी बचाउनु चुनौती नै रह्यो तर अहिले जनशक्ति बाहेक अन्य कुराहरूको अभाव छैन । अहिले अक्सिजनको ढुवानी पनि सहज भएको छ । अर्को चुनौती कोरोना खोपमा रहयो जुन अहिले पनि कायम नै छ ।

कोरोना महामारीको बेलामा स्वास्थ्य संयन्त्र प्रभावकारी बनाउनका लागि कस्तो किसिमको पहल गनुभयो ?

२०४४ सालमा निर्मित पुरानो भवन,पुरानो संरचनामा उच्चस्तरीय सेवा दिन निकै समस्या भोग्नु पर्‍यो । पाँच महिनाको अन्तरालमा हामीले १२ वेडको उच्च जोखिमयुक्त विरामी उपचार कक्ष (एचडीयू) निर्माण र ‘सेन्ट्रल अक्सिजन सप्लाई’ जडान गरियो । यसै सातामात्रैै २ थान अक्सिजन भन्टिलेटर, सीपीएपी, बीआईपीएपी, पोर्टेबल एक्सरेलगायतका उपकरण ल्याउन सफल भयौं ।

म कार्यालय प्रमुख हुनु अगाडि १५ वेडमा सञ्चालित अस्पताललाई ५० शैयामा स्तरोन्नति, सोसंगै उच्च जोखिमयुक्त विरामी उपचार कक्ष, सघन उपचार कक्ष निर्माण भन्टिलेटर सहितका अन्य सामाग्रीहरूको जडान, अक्सिजन प्लान्टको निर्माण प्रक्रियालाई नै पहल कदमी भएको महसुस गर्दछु ।

कोरोनाका बिरामीलाई उपचार गर्दा स्वास्थ्यकर्मीले कस्तो महसुस गर्नुभयो ?

महामारीको समयमा अक्सिजन शरीरमा घटेर अस्पतालमा उपचारको लागि आउने विरामी धेरै हुनुहुन्थ्यो । हामीले धेरैजसो दिनमा विरामीको चाप अत्याधिक भएको कारण बेड बाहिर राखेर पनि उपचार दियौं । कतिपय विरामी २० देखि २५ दिनसम्म पनि भर्ना हुनु भयो । यसरी हामीले २५० जना विरामीको उपचार गर्न सफल भयौं ।

अर्घाखाँचीबाहेक छिमेकी जिल्लाहरू रुपन्देही, प्युठान, गुल्मीबाट विरामीहरू हाम्रो सेवालाई विश्वास गरेर उपचार गर्न आउनु भयो । यो नै हाम्रा लागि खुसीको कुरा भयो । हामीले गरेको उपचार प्रयास सफल भयो । विरामीहरूलाई निको बनाएर खुसी बनाउनु नै हाम्रो खुसी हो । अर्घाखाँचीवासीलाई यही आफ्नै जिल्लामा अक्सिजन सहितको उच्च जोखिमयुक्त विरामी उपचार कक्ष सेवा दिन पाउँदा हामी निकै खुसी भएका छौ ।

कोरोना नियन्त्रण गर्नका कुन कुन संस्थाले कस्तो किसिमकोे सहयोग गरे ?

सहयोग धेरैले गर्नुभयो । प्रथम त सहयोगी हातहरूलाई नमन, विशेष धन्यवाद । यस्तो महामारीको समयमा दिन–रात सहयोगमा जुट्न ुहुने सम्पूर्णमा सम्मान गर्न चाहन्छु । सुरुवाती अवस्थामा आर्थिक सहयोग प्राप्त भएको थियो भने कसैले स्वास्थ्य सामाग्रीहरू, कसैले जनशक्ति सहयोग त कसैले उच्च जोखिमयुक्त विरामी उपचार कक्षमा बस्ने विरामी र उहाँहरूको कुरुवालाई खाना, खाजा, सुत्ने वेड़ सहयोग गर्नु भयो ।

तपाईं प्रमुख भएपछि अस्पतालमा गरेका सुधारका कामहरू के के हुन् ?

म अस्पताल प्रमुख भएपछि अस्पतालमा धेरै सुधार भएको छ । मैले नेतृत्व लिनुपूर्व १५ शैयाको अस्पतालमा मेरै कार्यकालमा ५० शैयाको बनाइयो । नेपाल सरकारको ‘एमएमएस स्कोरिङ’ मा लुम्विनी प्रदेशकै प्रथम र नेपालकै तेस्रो अस्पतालको रुपमा अर्घाखाँची अस्पताल स्थापित भयो ।

हाल २४ सै घण्टा टिकट काउन्टर, २४ सै घण्टा प्रयोगशाला, एक्ससे, भिडियो एक्सरेसहित ल्याबको गुणस्तरमा वृद्धि गरि एन्टिजेन, दिसापिसाब, कल्चर, थाइराईड जाँच, भिटामिनसहति २० प्रकारको जाँच गर्न सकिने बनाइएको छ ।
गर्भवती महिलाहरूको शल्यक्रिया र अन्य माइनर शल्यक्रियामा वृद्धि भएको छ ।

जिल्ला अस्पतालमा अत्याधुनिक सेवासहितको विशेषज्ञ सेवा कहिलेदेखि सुरु हुन्छ ?

अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन भइसकेको छ ,जसको लागि अधिकृत स्तरको फिजियोथेरापिस्टको नियुक्ति भइसकेको छ । अस्पतालमा दन्तरोग रोगजन्य सेवा स्थापना भई २ जना डेन्टल सर्जन, १ जना डेन्टल हाजेनिस्टको नियुक्ति भइसकेको छ ।

इमर्जेन्सी कक्षको विस्तारसँगैै बेड संख्यामा पनि विस्तार भएको छ । नर्सिंङ कक्ष विस्तारसँगै अन्य प्राविधिक क्षमता विस्तार भइसकेको छ । यस क्रममा आधुनिक विशेषज्ञ सेवा दिन अस्पताल तयार छ ।

अस्पताललाई ५० शैयाको भए पनि अझै प्रभावकारी काम भएको देखिदैन नि ?

अस्पताल ५० शैयाको बनाउन तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बराल, मन्त्रालयका सचिव, अर्घाखाँचीका माननीयहरूचेतनारायण आचार्य,रामजी घिमिरेको विशेष सहयोग रह्यो । अस्पतालको प्रभावकारिता बढाउन भौतिक रुपमा विभिन्न फाँटहरू स्थापना गरि सेवा दिइरहेका छौ तर जनशक्तिको समस्या यथावत नै छ ।

५० शैयाको दरबन्दी अनुसार १ जना पनि विशेषज्ञ चिकित्सक हुनुहुन्न । यो अर्घाखाँचीको मात्र समस्या नभई देशका सम्पूर्ण पहाडी जिल्लाहरूको समस्या हो, किनभने विशेषज्ञ चिकित्सकको लागि प्रोत्साहन, उचित तलब, सुविधा र आकर्षण सरकारी सेवामा कम छ । त्यसैले नीतिगत रुपमा व्यवस्था गरि चिकित्सकलाई सरकारी सेवामा आकर्षण गर्न सके हामीले ५० शैयाको अनुभूति गर्ने छौं, अन्यथा निकै कठिन   छ ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा सरकारले राजनीतिक संरचनाअनुसार व्यवस्थापन समिति बनाएको छ, यसले असर गर्छ कि गर्दैन ?
अस्पताल व्यवस्थापनमा अस्पताल प्रशासन र व्यावस्थापन समितिको दुवैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ, दुवैको आ–आफ्नो काम कर्तव्य र जिम्मेवारी अनुसार अगाडि बढन सके समस्याहरू आउँदैन र आएका समस्याहरू पनि सहजै समाधान गर्न सकिन्छ । अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्न टेवा पुग्छ ।

अस्पतालको सुधारको निम्ति भावी योजनाहरू के बनाउनुभएको छ ?

हामीसँग आवश्यक औजार उपकरणहरूको उपलबधता पर्याप्त मात्रामा छ । अबको आवश्यकता भनेको कर्मचारी तथा जनशक्तिको व्यवस्थापन हो साथै ५० शैयाको भवन निर्माण र अक्सिजन प्लान्ट निर्माण गर्ने कार्यमा आवश्यक कदम थाल्ने योजना बनाएको छु ।

अन्त्यमा थप केही भन्नु छ कि?

अर्घाखाँची जिल्लामा आएर सेवा दिन पाउदा मा निकै नै खुसि छु । नेपालको तेस्रो र लुम्बिनी प्रदेशको पहिलो अस्पतालको रुपमा परिचित गराउन पाउँदा अत्यन्तै खुसी मिलेको छ । यसका लागि सबै पक्षबाट सहयोग प्राप्त भएको छ, सबैको सहयोगबाट नै यस अस्पतालको मुहार फेर्न र गुणस्तरीय सेवा दिन ऊर्जा मिलेको छ ।

प्रस्तुती : अनिल नेपाली

 



प्रतिक्रिया दिनुहोस !