४ जेष्ठ २०८१, शुक्रबार

नेप्से २७ अंकले बढेसँगै बजारमा फर्कियो रौनकता

प्रकाशित मिति :  27 June, 2021 3:53 pm


काठमाडौं । डेढ सातादेखि निरन्तर ओरालो लागेको सेयरबजारमा आज साताको पहिलो दिन भने रौनक छाएको छ । अघिल्लो साता पनि सेयर बजार ओरालो लागेपनि लगानीकर्ता आत्तिएका थिए भने आज साताको पहिलो दिन बजारमा हरियाली छाएसँगै बजारमा आशाको किरण छाएको लगानीकर्ता बताउँछन् ।

सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरू पनि उत्साहित बनेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ अंकमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढेर ५२९.४१ मा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ वटा उपसमूहको परिसूचक घटेको छ ।

नेप्सेमा आज कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले अग्रस्थानमा रहेको छ । कम्पनीको ४० करोड ७० लाख २५ हजार रूपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

आज नेप्सेमा सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा सेञ्चुरी कमर्सियल बैंक, अपर तामाकोशी, युनाइटेड इदी मर्दी, रिडी हाइड्रोपावर, सिभिल बैंक, नेशनल हाइड्रोपावर आदि रहेका छन् ।

त्यसैगरी, आइतबार गोर्खाज फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीहरूले गुमाएका छन् ।

कूल २२७ वटा कम्पनीको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

असार १ गते मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामसहित विज्ञप्ति सार्वजनिक गरेको हुनाले सेयर बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको थियो । सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरू पनि आत्तिएका थिए ।



प्रतिक्रिया दिनुहोस !