प्यूठानमा विपद् व्यवस्थापनका लागि सबै संयन्त्र तयारी अवस्थामा राखेका छौं : प्रजिअ भुसाल
प्यूठान । प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले वर्षामा हुने प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा रहेको बताएका छन् ।
देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुराईरहेका बेला प्रमुख जिल्ला अधिकारी भुसालले प्यूठानमा सबै संयन्त्र तयारी अवस्थामा रहेको बताएका हुन् ।
लुम्बिनी सञ्चारसँग कुरा गर्दै उनले भने,“हामीले जेठ महिनामा नै विपद व्यवस्थापन समितिको बैठक बसेर विपद प्रतिकार्य योजना तथा मौसम प्रतिकार्य योजना बनाईसकेका छौं । यस्तै, विपद् प्रतिकार्य योजना स्थानीय तहहरूले पनि बनाईसक्नुभएको छ, स्थानीय विपद् व्यवस्थापन कोषमा प्रयाप्त बजेटको समेत व्यवस्था गरिएको छ ।”
सुरक्षा निकायहरूमा विपद् व्यवस्थापनका लागि छुट्टै टिम नै खडा गरिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ ।
उनले भने,“जिल्लामा विपद संभावना,स्थान, विपद्को प्रकृति र सो को न्यूनिकरण, रोकथाम तथा राहत र उद्वारका साथै पुर्नलाभ वितरणसम्मका सबै कार्यहरू गरि तयारी अवस्थामा राखिएको छ ।”
यस वर्ष मनसुन सुरु भएपछि प्यूठानमा त्यति ठूलो क्षति पुराएको छैन ।
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार अहिलेसम्म मल्लरानी गाउँपालिकामा वडा नं.३ का सडक पूर्वाधार कार्यालयमा कार्यरत हिरा नेपालीलाई खोलाले बगाएको छ भने ऐरावती गाउँपालिकाको मागीदरबारमा निर्माणधिन पक्की पुलमा क्षति पुराएको छ । उनले भने,“प्यूठान प्राकृतिक प्रकोपका हिसाबले जोखिमयुक्त भएपनि अहिलेसम्म कुनै ठूलो क्षति भएको छैन ।”
जिल्ला विपद् जोखिम न्यूनिकरण,पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ समेत पारित भइसकेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट पारित भएर योजना कार्यान्वयनमा गइसकेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।
प्यूठानमा भूकम्प,बाढी पहिरो,आगलागी,महामारी(कोभिड १९समेत) हावाहुरी, सडक दुर्घटजना,खडेरी भुक्षय चट्याङ् असिना तर तुसारोको जेखिम मानिन्छ । प्रमुख जिल्ला अधिकारी भुसालले अहिले बाढीपहिरो र भुक्षयको समय भएका कारण त्यसका लागि आवश्यक तयारी गरिसकिएको जानकारी दिए ।








