८ पुस २०८२, मंगलबार

एकैदिन ६० करोड रुपैयाँ बराबर दहीको कारोबार

प्रकाशित मिति :  29 June, 2021 7:36 pm


काठमाडौं । आज असार १५ गते । राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन ।

आज किसानका लागि उत्सवको दिन पनि हो । सरकारी निकायले औपचारिक रुपमा विभिन्न कार्यक्रम गरेर धान दिवस मनाउने प्रचलन पनि छ । आजको दिन ठूलो मात्रामा दहीको व्यापार हुने गर्दछ । नेपाल डेरी एसोसिएसनका अनुसार आज झण्डै ६० करोड रुपैयाँ बराबरको दाहीको कारोबार भएको अनुमान गरिएको छ ।

हरेक दिन ३१ लाख लिटर दूध नेपाली बजारमा दिन जान्छ । बजारमा गएको दूधमध्य ४० प्रतिशत दही बनाएर बिक्री गरिन्छ । अर्थात दैनिक १२ लाख ४० हजार लिटर दही बिक्री हुने गर्छ । असार पन्ध्रमा औसतमा पाँच गुणा दहीको बिक्री हुने गरेको छ । तर यसपटक कोरोनाको प्रभावका कारण औसतमा चार गुणासम्म दही बिक्री भएको एसोसियसनको भनाई छ ।

एसोसिएसनका महासचिव प्रल्हाद दाहालले भने,“हाम्रो तथ्याङ्क देशभरीको नै हो । निजी, सरकारी,सहकारी तथा अनौपचारिक रुपमा बिक्री हुने दहीको तथ्याङ्क हेर्दा आज कम्तिमा ६० करोड रुपैयाँ बराबरको दहीको कारोबार भएको छ ।”

समान्य अवस्थामा बिक्री भएको दहीको चार गुणा भनेको झण्डै ५० लाख लिटर दहीको कारोबार हो ।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भने आफूहरुसँग आवद्ध डेरीले आज १० गुणासम्म बढी दहीको कारोबार गरेको जानकारी दिए । उनले भने,“कोरोना नभएको भए दहीको कारोबार अझै धेरै हुनसक्थ्यो तैपनि हाम्रो संस्थामा आवद्ध डेरीले १० गुणा बढीसम्म कारोबार गरेका छन् ।”

घरेलु, साना, मझौला र ठूला डेरी उद्योगहरू गरी ४ प्रकारका डेरी उद्योगहरू छन् । देशभर करिब ७ हजार डेरी रहेको अनुमान छ । कुल दूध उत्पादनको १७ प्रतिशत हिस्सा औपचारिक क्षेत्रमा खपत भइरहेको छ भने अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत छ । ५० प्रतिशत कृषक आफैले उपभोग गर्ने गरेको पाइन्छ ।

नेपालभर ७४ लाख ५९ हजारको संख्यामा गाई रहेका छन् भने यी मध्ये दूधालू गाईको संख्या १५ प्रतिशत रहेको छ । भैंसीको संख्या ५२ लाख ५७ हजार ५ सय रहेकोमा ३० प्रतिशत दूधालु भैंसी छन् । करिब ७० हजारको संख्यामा चौरी गाई छन् । स्थानीय जातका गाईको दुग्ध उत्पादकत्व कम हुने भएकाले पछिल्ला वर्षहरुमा धेरै दूध दिने उन्नत गाईपालन गर्नेको संख्या बढ्दो छ ।



प्रतिक्रिया दिनुहोस !