२० बैशाख २०८१, बिहिबार

सोमालियामा उत्पन्न खाद्य संकट टार्न संयुक्त राष्ट्रसंघले गर्यो सहयोगको अपिल

प्रकाशित मिति :  1 July, 2021 3:21 pm


संयुक्त राष्ट्रसंघ । सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ ।

यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको छ । समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो ।

यहाँका ५९ लाखभन्दा बढी मानिस प्रभावित भएको सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय ९ओसीएचए० का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौं मानिस विस्थापित भएका छन् ।

यहाँका अधिकारीहरुले आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ आन्तरिक द्धन्द्धका कारण पनि मानिसहरुले खान पाएका छैनन् ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय ९ओसीएचए० सोमालियाका संयोजक आदम अब्देलमौलाका अनुसार कम्तीमा पनि ५० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको बताएका छन् ।

सोमालिया सरकारले गत अप्रिलमा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो । सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था र देशहरुलाई आग्रह पनि गरेको छ ।  रासस–सिन्ह्वा



प्रतिक्रिया दिनुहोस !