१७ श्रावण २०७८, आईतवार

‘कृषि क्रान्ति’ गर्ने भन्दै स्थापना भएको कम्पनीले मलको ठेक्कामा हाल्दा कालो सूचीमा

प्रकाशित मिति :  २२ असार २०७८, मंगलवार १४:४९


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी कालो सूचीमा परेको छ । कृषि क्षेत्रमा विस्तारै परिवर्तन ल्याउने र आत्मनिर्भरताका लागि योगदान गर्ने भन्दै स्थापना भएको मुक्तिनाथले मल ठेक्कामा हात हालेपछि २ वर्षका लागि कालो सूचीमा परेको हो ।

कृषि सामाग्री कम्पनीको सिफारिसमा मुक्तिनाथ कृषि कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले २ वर्षका लागि कालो सूचीमा राखेको हो । कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्र भण्डारीले समयमा मल उपलब्ध गराउन नसकेकाले मुक्तिनाथ कृषि कम्पनी कालो सूचीमा राख्न सिफारिस गरिएको बताए । उनले भने,“तोकिएको समयमा मात्रै होईन थपिएको समयमा पनि मल ल्याउने संकेत देखिएन, समय थप्दापनि लोड गरिएको पानी जहाँज नदेखिएपछि कालो सूचीमा राखिएको हो ।”

मुक्तिनाथ कृषि कम्पनी सन् २०१८ मा स्थापना भएको थियो । कम्पनीको वेबसाईटमा भएको तथ्याङ्क अनुसार प्रर्वद्धकमा ८३६ जना र मुक्तिनाथ विकास बैंक रहेका छन् ।

कम्पनीका अध्यक्ष भरतराज ढकालले आफू बाहिर रहेको कालो सूचीमा परेको जानकारी मिडियाबाट थाहा पाएको बताए । लुम्बिनी सञ्चारसँग ढकालले भने,“ हामीले अरु केही गरेको होईनौं मल ल्याउने प्रयास गरेका हौं तर कोभिडका कारणले समस्या भयो ।” कम्पनीले राम्रो काम गरिरहेको तर मलका कारण समस्या भएको बताए । उनले भने, “हामीले राम्रो गरिरहेका छौं,अहिलेसम्म नेपाली कम्पनीले मल ल्याएका रहेनछन्, हामीले प्रयास गरेका हौं तर कोभिडका कारणले सप्लायर्सले उपलब्ध गराएन र हामीलाई समस्या भयो ।”

त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेडकै सिफारिसमा शैलुङ इन्टरप्राईजेज प्रा.लि. पनि २ वर्षका लागि कालो सूचीमा परेको छ । शैलुङ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरवेटी हुन् ।

अनुगमन कार्यालयले आज सूचना जारी गर्दै एकैचोटी १५ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । उनीहरुले सार्वजनिक खरिद ऐन, सम्झौतामा उल्लेखित व्यवस्था र तोकिएको आचारण विपरीत कार्य गरेको आधारमा सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने गरी कालो सूचमिा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !