चितवनमा सुजिता मृत्यु प्रकरणको अनुसन्धानमा कति प्रगति ? प्रहरी भन्छ,‘बाह्य व्यक्तिले अवरोध खडा गरेका छन्’

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको जनाएको छ ।
असार ११ गतेदेखि हराइरहेकी भण्डारीको शव नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरेर शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले अहिलेसम्म एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको जानकारी दिँदै भने, “केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।”
अभियन्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई थपेको प्रहरी उपरीक्षक अधिकारीले गुनासो गरे । उनले भने, “काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ ।”
प्रहरी उपरीक्षक अधिकारीले भने,“अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्र्यू व्यवस्थापनमा खटिनु परेको छ ।”
भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि ललितपुर खुमलटार पठाइएको उनको भनाई छ । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।
उनले भने, “शव भेटिए देखि नै अनुसन्धानको कामलाई अफ्ठेरोमा पार्ने काम भयो,शव परीक्षणका लागि ल्याउने समय देखिनै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो ।” आफन्त अनुसन्धानका लागि तयार भएपनि बाह्य व्यक्तिले अवरोध खडा गरेका छन् उनको भनाई छ ।
प्रहरी उपरीक्षक अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाकोपछि नदौडिनसमेत आग्रह गरेका छन् । उनले भने, , “प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ ।” अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उहाँले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गरे ।
भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको उनले जानकारी दिए । शब भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ ।
भण्डारीको हत्या अनुसन्धानका लागि काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कुकुरसहित खटिएको छ । अहिलेसम्म प्रहरीले स्थानीयवासी र निजका आफन्तसँग सोधपुछको काम गरिरहेको जनाएको छ । सो क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मङ्गलबारबाट कफ्र्यू जारी गरेको थियो ।