१९ बैशाख २०८१, बुधबार

अब जीवन बिमा पोलिसी चित्त नबुझे १ महिनासम्ममा रद्द गर्न सकिने

प्रकाशित मिति :  8 July, 2021 2:18 pm


काठमाडौं । बिमा समितिले एक निर्देशिका जारी गर्दै अब बिमालेख बिक्री गर्न नपाउने बताएको छ । समितिले जीवन बिमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बिमालेख स्वीकृति प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न उक्त निर्देशिका जारी गरिएको बिमा समितिले जनाएको छ ।

निर्देशिकामा उल्लेख गरिए अनुसार बिमकले कुनै पनि प्रकारले बिमितलाई बिमालेखको शर्त तथा सुविधा सम्बन्धी गतल विवरण उपलब्ध गराई भ्रममा पारी बिमालेख बिक्री गर्न पाउने छैन ।

बिमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बिमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय प्रक्षेपण बिमालेखको व्यवसायिक योजना तयार पार्नु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

निर्देशिकामा जीवन बिमा पोलिसी निर्देशिका २०७८ को बुँदा नं २१ उल्लेख भएअनुसार एक महिनासम्ममा बिमा पोलिसी रद्द गर्न सकिने छ । सो व्यवस्था अनुसार जीवन बिमा कम्पनीहरुले बिमितले बुझाएको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

नयाँ व्यवस्था अनुसार झुक्याएर, जालसाँजीमा पारेर बीमा पोलिसी काटेको खण्डमा रद्द गर्न बाटो खोलेको छ ।साथै, बिमा कम्पनीले बिमालेख अन्तर्गत ३ वर्षको बिमाशुल्क प्राप्त भएपछि मात्रै बिमालेख समर्पण गर्न तथा बिमालेख धितो राखि ऋण लिन पाउनेछन् ।

यो निर्देशिका बुधबार (असार २३ गते) देखि लागू भएको समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !