१५ बैशाख २०८१, शनिबार

बाटो निर्माणको विवरण प्रधानमन्त्रीको दाबीभन्दा फरक, देशभरिमा जम्मा २० हजार किमि पक्की सडक

प्रकाशित मिति :  9 July, 2021 3:41 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा संसदमा वर्तमान सरकारका समयमा दैनिक ६ किलोमिटर (किमि) बाटो बनेको बताए पनि अघिल्लो तीन वर्षभन्दा कम अनुपातमा कम सडक निर्माण भएको पाइएको छ ।

राष्ट्रिय तहमा नयाँ निर्माण हुने सडक दैनिक १ किलोमिटर भन्दा कम पाइएको छ भने स्थानीय तहबाट निर्माण हुने सडक दैनिक औसत ४.१ किलोमिटर देखिएको छ, जुन अघिल्लो तीन वर्षको औसतभन्दा कम हो । अघिल्लो ३ वर्षमा औसत ५.३ किलोमिटर बाटो बनेको पाइएको छ ।

भौतिक योजना तथा निर्माण मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकअनुसार वर्तमान सरकार बनेपछि नयाँ सडक बन्ने क्रम उल्टै घटेको देखिएको छ । सडक विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा सर्वाधिक धेरै ९७१ किलोमिटर नयाँ सडक बनेकोमा त्यसपछि प्रत्येक वर्ष लगातार कम अनुपातमा नयाँ सडक बनेको पाइएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्तिम चौमासिक अवधिमा मात्र ओली नेतृत्वको सरकार सत्तामा आएको थियो ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा ८०९ किलोमिटर नयाँ सडक बनेकोमा २०७४/७५ मा ९७१ किलोमिटर नयाँ सडक बन्यो भने कार्यकालको पहिलो वर्ष २०७५/७६ मा ४४० किलोमिटर नयाँ सडक बनाउन सकेको ओली सरकारले दोस्रो वर्ष २०७६/७७ मा ३६५ किलोमिटरमात्र नयाँ सडक बनाउन सक्यो ।

चालू आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म जम्मा २८४ किलोमिटरमात्र नयाँ सडक बनेको छ, यो वर्ष प्रगति हेर्दा गत वर्षको भन्दा कम अनुपातमा नयाँ सडक बन्ने देखिएको विभागका अधिकारीहरू बताउँछन् ।

केन्द्रीय स्तरबाट निर्माण भएको सडक २०७४/७५ मा ३० हजार ८८ किलोमिटर रहेकोमा चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ३३ हजार ५२८ किलोमिटर पुगेको विभागको तथ्यांकबाट देखिन्छ, जसमध्ये कालोपत्रे सडक २०७४/७५मा १३ हजार ७०७ किलोमिटर रहेकोमा हाल १५ हजार ९७४ किलोमिटरमात्रै पुगेको छ । अर्थात्, तीन वर्षमा १ हजार ८८७ किलोमिटरमात्र कालोपत्रे सडक थपिएको छ, जुन दैनिक औसत २ किलोमिटरभन्दा कम हो ।

दैनिक ४ किमि स्थानीय सडक

यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय स्तरबाट निर्माण भएको सडक २०७४/७५ मा ५९ हजार ८५ किलोमिटर रहेकोमा चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ६३ हजार ५७७ किलोमिटर पुगेको छ । यसमध्ये करिब ४० हजार किलोमिटरमात्र सवारी साधन गुडाउन योग्य रहेको स्थानीय पूर्वाधार विभागको एक अध्ययनले देखाएको छ ।

स्थानीय तहबाट निर्माण भएको सडकमध्ये कालोपत्रे सडक २०७४/७५मा २ हजार ७३५ किलोमिटर रहेकोमा हाल ४ हजार २७४ किलोमिटर पुगेको छ । यो तीन वर्षमा स्थानीय तहमार्फत जम्मा १ हजार ५३९ किलोमिटर अर्थात दैनिक १.४० किलोमिटर कालोपत्रे सडक बनाइएको देखिन्छ ।

स्थानीय तहमार्फत् पछिल्लो तीन वर्षमा दैनिक औसत ४.१० किलोमिटर बनेको र त्यसअघिका तीन वर्षमा दैनिक औसत ५.३ किलोमिटर बाटो बनेको स्थानीय पूर्वाधार विभागको तथ्यांकले देखाएको छ ।

देशभरिमा जम्मा २० हजार किमि पक्की सडक

पछिल्लो समयमा राष्ट्रिय स्तरमा पूर्व-पश्चिम, उत्तर-दक्षिण जोड्ने फरक फरक नामका राष्ट्रिय राजमार्ग, तीसँग जोडिने सहायक राजमार्ग र स्थानीय तथा प्रदेश स्तरबाट समेत लगानी गरि सडक बनाउने होडबाजी चले पनि २०२२ सालदेखि २०७८ सालसम्म जम्मा २० हजार किलोमिटरमात्रै पक्की (कालोपत्रे) सडक निर्माण भएको पाइएको छ । यसमध्ये राष्ट्रिय स्तरबाट निर्माण भएको कालोपत्रे सडक १५ हजार ९७४ किलोमिटर हो भने स्थानीय स्तरबाट निर्माण भएको कालोपत्रे सडक हाल ४ हजार २७४ किलोमिटर छ ।



प्रतिक्रिया दिनुहोस !