नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत
काठमाडौं । नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।
यो संशोधनसंगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुइतर्फि ढुवानी गर्न पाउने भन्दै महासंघले भनेको छ,“यो संशोधनबाट दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयां उचाईमा पुग्ने विश्वास महासंघको छ । नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि उठाउंदै आएको माग संवोधन भएकोमा महासंघ त्यसको हार्दिक स्वागत गर्दै यसका लागि निरन्तर पहल गर्ने दुवै देशका सरकारलाई धन्यवाद समेत दिन चाहन्छ ।”
शंसोधित संझौता अनुसार नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले विरगन्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेल सेवा दिन सक्ने छन् ।
हाल नेपालको वीरगंजसम्म रेल सेवा उपलव्ध भएकोमा विराटनगर, भैरहवा र इनरूवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलव्ध हुने गरी र नेपाल भारत सीमानाका अन्य पारवहन विन्दू तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतिका आधारमा रेल सेवा विस्तार हुदै जाने सुविधाले नेपालको तेस्रो मुलुकसंगको व्यापारमा सहजता आउनुको साथै दुईपक्षीय व्यापार तथा पारवहनको सहजीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।
समग्रमा व्यापार लागत घटाउनुको साथै नेपालको अन्तराष्ट्रिय व्यापारमा समेत महत्वपूर्ण सघाउ पुर्याउने विश्वास महासंघको छ ।
संशोधित सम्झौताबाट भारतका निजी रेल सेवा प्रदायकहरूले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।
यसका साथै भारतमा रेल सेवा उपलव्ध गराईरहेका सवै अनुमति प्राप्त कार्गो ट्रेन अपरेटहरूले नेपालकोे पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्ने भएकाले रेलबाट हुने कार्गो ढुवानीमा प्रतिस्पर्धा बढ्न गई लागत घट्ने तथा समय समेत बचत हुने विश्वास महासंघको छ । त्यस्तै, संशोधित सम्झौता अनुसार यसअघि रेलको ढुवानी भाडा कोलकतामै तिर्नुपर्ने व्यवस्थामा संशोधन भई नेपाली बैंकिङ प्रणालीमार्फत रेल भाडा भुक्तानी गर्न सकिने व्यवस्था समेत गरिएको छ ।