२५ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीले दिए बाउन्स हुने मेलम्ची आयोजनाको चेक!

प्रकाशित मिति :  11 July, 2021 9:15 am


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली  मेल‌म्चीको बाढीले पुर्‍याएको क्षति हेर्न शनिबार हेलिकप्टर चढेर मेलम्ची पुगेर बाढी पीडितसँग भेट नै नगरी फर्किए । प्रधानमन्त्री ओली फर्किएलगत्तै सामाजिक सञ्जालमा उनले हस्तान्तरण गरेको चेक भाइरल भएको छ ।

ती चेक मेलम्ची खानेपानी आयोजना र आयोजनाले ‘सामाजिक काम’  गर्न बनाएको ह्याल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान विकास कार्यक्रमबाट हस्तान्तरण गरिएको थियो, जसमध्ये हृयाल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान विकास समितिले काटेको सिभिल बैंकको चेक सामाजिक सञ्जालमा भाइरल भएको हो ।

‘मेलम्ची बाढी पिडित राहत तथा पुनस्यापना कोष’ (चेकमा लेखिमबमोजिम) का नाममा काटिएको ६० लाख रुपैयाँको चेक, अंक र अक्षरमा फरक लेखिएका कारण बैंकले अनादर (बाउन्स) गर्छ । चेकमा अक्षरुपी- साठ्ठी लेख्नु पर्नेमा छाठ्ठी हजार रुपैयाँ लेखिएको छ  ।

प्रधानमन्त्रीले मेलम्ची आयोजनाले हेलम्बु गाउँपाालिकालाई दिएको १ करोड ५० लाख रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई दिएको १ करोड ५० लाखको चेक पनि हस्तान्तरण गरेका थिए । मेलम्ची खानेपानी विकास समितिको चेक डमीमात्रै हो भने ह्याल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान विकास कार्यक्रमबाट काटिएको चेकलाई नै डमीमा प्रिन्ट गरिएको देखिन्छ ।

समितिका अध्यक्षलाई मेलम्ची आयोजनाको गाडी

हृयाल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान विकास कार्यक्रमका अध्यक्षलाई  मेलम्ची खानेपानी आयोजनाबाट किनिएको  बा ७ झ १७७९ टोयोटा हाइलक्स पिकअप गाडी लामो समयदेखि उपलब्ध गराइएको छ ।

यो समितिका नाममा तत्कालीन गाविस, हालका वडाहरूमा स्वास्थ्य चौकी, सडक, विद्यालय निर्माण, सिंचाइ, सामुदायिक भवन निर्माणदेखि विभिन्न नामका आयआर्जन र सामाजिक कार्यक्रम पनि आयोजना गर्ने गरिएको छ । जसको बजेट मेलम्ची खानेपानी आयोजनाबाटै निकासा हुन्छ ।

 



प्रतिक्रिया दिनुहोस !