२३ श्रावण २०७९, सोमबार

कोरोना संक्रमणले वडाअध्यक्षको मृत्यु भएपछि सन्धिखर्क नगरपालिका एकहप्ताका लागि बन्द

प्रकाशित मिति :  26 July, 2021 6:29 pm


अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ ।

वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि एक हप्ताका लागि नगरपालिका बन्द गरिएको हो ।

सन्धिखर्क नगरपालिका ८ किमडाँडा घर भएका वडा अध्यक्ष भुसालको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा हिजो मृत्यु भएको थियो । नगर प्रमुख कमलप्रसाद भुसालको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण काम श्रावण १७ गतेसम्म बन्द गर्ने तथा सबै वडा र नगरमा १३ दिन सम्म शोक पुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

अर्घाखाँचीमा हालसम्म कोरोनाका कारण ७० जनाको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए ।

कोरोनाका कारण सन्धिखर्क नगरपालिकामा २०, भुमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १२, मालारानी गाउँपालिकामा १२, पाणिनि गाउँपालिकामा ८, र छत्रदेव गाउँपािलकामा ३ जना गरी ७० जनाको ज्यान गएको छ ।

जिल्लाभर कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ जसमा २६ सय ३४ जना निको भएका छन् भने सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १२ छ ।



प्रतिक्रिया दिनुहोस !