१२ श्रावण २०८१, शनिबार

पूर्व सचिवकी पत्नीको हत्यामा घरेलु कामदारकै संलग्नता

प्रकाशित मिति :  10 February, 2020 9:06 pm


काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या घरमा कामदार रहेका विजय चौधरीले गरेको खुलेको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा मुना कार्कीको हत्या उनकै घरमा कामदार रहेका विजय चौधरीले गरेको खुलेको प्रहरीले जनाएको छ । सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो ।
सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेटको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको प्रहरीको भनाइ छ । भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपालले समातेर भुइँमा बजारेको देखिएको प्रहरीले जनाएको ।

सोमबार बिहान मुना कार्की सानेपास्थित निवासमा रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए ।

दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

चौधरीले के कारणले कार्कीको हत्या गरे र किन आफै आत्महत्या गरे भन्ने चाहिँ अझै खुल्न सकेको छैन । पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।



प्रतिक्रिया दिनुहोस !