२० मंसिर २०७९, मंगलबार

सुस्ताको विकासमा फाउण्डेशनले सहकार्य गर्ने

प्रकाशित मिति :  12 November, 2021 11:48 am


परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिकाको विकास र समृद्धिमा लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले सहयोग गर्ने भएको छ ।

फाउण्डेशनले समृद्ध सुस्ता निर्माणका लागि आवश्यक पर्ने क्षेत्रमा आवश्यक लगानी, सहकार्य र सहयोग गर्ने जनाइएको छ ।

यसका लागि गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र फाउण्डेशन स्पेनका अध्यक्ष जुसे मनुअल भिलानोभाबीच संस्थागत सम्बन्ध कायम, सहकार्य र समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको विशेष उपस्थितिमा लुम्बिनीमा उक्त समझदारीपत्रका हालै हस्ताक्षर भएको हो ।

सुस्ताको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलगायतका क्षेत्रको विकासमा उक्त संस्थाबाट आवश्यक सहयोग प्राप्त हुने गाउँपालिका अध्यक्ष पाण्डेले राससलाई जानकारी दिए । “हामी केही समयअघि यो संस्थाको सदस्य पनि भएका थियौँ, कुन–कुन क्षेत्रमा लगानी गर्दा गाउँपालिकाको समृद्धि हुन्छ, त्यसमा उक्त संस्थाले लगानी गर्नेछ, यो राम्रो उपलब्धि हो”, उनले भने ।

गाउँपालिकाअन्तर्गत रहेको भगवान् गौतमबुद्धले बुद्धत्व प्राप्त गर्न बोधगया प्रस्थान गर्नुअघि कपाल मुण्डन गरी गेरुवस्त्र धारणा गरेको पुरातात्विक तथा ऐतिहासिकस्थल अनोमाघाटसहित यहाँका अन्य पर्यटकीयस्थलको विकास र प्रवद्र्धन, प्राविधिक विद्यालय, अस्पताल निर्माण, आँखा अस्पताल स्थापनालगायतका विकास योजनामा सहकार्य गर्ने समझदारी भएको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस !