जनयुद्धकी पहिलो घाइते मनखना बाँठामगरको श्रद्धाञ्जली सभा सम्पन्न
रोल्पा । जनयुद्धकी पहिलो घाइते मनखना बाँठामगरको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठामगर ‘सुवास’ की आमा समेत रहेकी बाँठा मगरको श्रद्धाञ्जली सभा माडी-५ भाबाङमा सम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले स्वर्गीय मनखना बाँठामगरको प्रेरणाबाट सुवास लगायत थुप्रै क्रान्तिकारी छोराहरू जन्मिएकाले आमाको सपना पूरा गर्न कतिबद्ध भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका रोल्पा जिल्ला उपाध्यक्ष विजय घर्ती, नेकपा माओवादी केन्द्रका माडी गाउँपालिका सचिव विर बहादुर घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.१९९५ बैशाख १४ गते रोल्पा भाबाङमा जन्मिएकी मनखना २०५१ सालमा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीको गोलीबाट घाइते भएकी थिइन् ।
उनी जनयुद्धको पहिलो घाइते भएको नेकपाले जनाएको छ । उनको ८३ वर्षमा कार्तिक २४ गते आफ्नै घर भाबाङमा निधन भएको थियो ।








