८ बैशाख २०८१, शनिबार

नयाँ रोजगारी गन्तव्य बेलायतमा दश हजार नर्स पठाउने सरकारको तयारी

प्रकाशित मिति :  19 November, 2021 5:38 pm


काठमाडौं । सरकारले वैदेशिक रोजगारीको नयाँ गन्तव्यको रूपमा बेलायतमा स्टाफ नर्स पठाउन तयारी थालेको छ । पहिलो चरणमा बेलायतमा १० हजार नर्स पठाउने सरकारको गृहकार्य छ ।

शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता विषायक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार स्टाफ नर्सलाई रोजगारीका लागि बेलायत पठाउन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।

“बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले हामी निरन्तर त्यसको गृहकार्यमा छौँ,“ मन्त्री श्रेष्ठले भने, “हामी हाम्रा श्रमिकको हक र हित हुने गरी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर त्यसबारे छलफल गरिरहेका छौ, हिज मात्रै त्यसबारेमा पनि व्यापक छलफल गरेका हौँ ।”

कार्यक्रममा पत्रकार तथा सरोकारवालको प्रश्नको जवाफ दिदै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायतसँग सम्झौताको तयारी भइरहेको जानकारी दिए । “हामी रोजगारीका लागि बेलायतजस्तै अन्य नयाँ श्रम गन्तव्यको खोजीमा छौँ । सकेसम्म हाम्रा श्रमिक बाहिर पठाउदा श्रम सम्झौता गरेर पठाउन मन्त्रालय कटिबद्ध छ,” सचिव गौतमले भने ।

भिजिट भिसा रोक्न सकिदैन
पछिल्लो समय नेपालीहरू युएई लगायतका मुलुकमा भिजिट भिसामा गएर उतै काम गर्ने प्रवृति बढिरहेको भए पनि त्यसलाई रोक्न भिजिट भिसा रोक्न नसकिने मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले बताए । भिजिट भिसामा विदेश घुम्नका लागि जान पाउने नागरिकको मौलिक अधिकार भएकाले भिजिटमा विदेश नजानुस भन्न नमिल्ने बताए ।

युवायुवतीहरु श्रम स्वीकृति नलिइ भिजिट भिसामा गएर वर्क पर्मिट लिएर काम गरिरहेको र त्यसरी कति मानिसहरू विदेशमा काम गरिरहेका छन्, त्यो रेर्कड राख्न पनि गाह्रो परिरहेको उनले बताए ।

“भिजिटमा गएर काम गर्नेलाई कसरी रोक्ने त्यो अर्काे पाटो हो, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यानकेन्द्रित छ.” सचिव गौतमले भने ।

 



प्रतिक्रिया दिनुहोस !