५ जेष्ठ २०८१, शनिबार

बोसो भएका खानेकुरा मुटुका लागि अति नै हानिकारक

प्रकाशित मिति :  23 December, 2021 7:50 am


काठमाडौं । खराब बोसो भएका खानेकुराहरूले मुटुको धमनी अस्वस्थ बनाउँछन्, मासंपेशी कमजोर पार्छन्, ४० वर्ष नपुग्दै मधुमेह र मुटुको रोग दिन्छन् । खराब बोसो स्वास्थ्यका लागि अति नै हानिकारक पदार्थ हो । खानेकुरालाई लामो समय सुरक्षित राख्न, स्वाद बढाउन यसको प्रयोग गरिन्छ ।

पछिल्ला दस वर्षमा नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँको ठोस पत्रु खाना आयात भएको सरकारी तथ्यांक छ । ती सबै खाद्य पदार्थ खराब बोसोमै बनाइन्छन् । यसरी लगभग १ खर्ब रुपैयाँको कबाडी खानाले भविष्यमा सयौं खर्बको नोक्सानी पुर्‍याउँछ भन्नेतर्फ सरकारले विचार गर्दैन किनभने सरकारी मान्छे पनि पत्रु खाना नै खान्छन्, स्वाद लिईलिई ।

वरिष्ठ चिकित्सक प्रकाशराज रेग्मी भन्छन्, ‘बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको मुख्य कारण खराब बोसो हो, जुन बिस्कुट, चाउचाउ दालमोठ, चिजबल्स, आलु चिप्स आदिमा पाइन्छ ।’

खराब बोसो अर्थात् ‘ट्रान्स फ्याट’, बाहिरबाट हेर्दा कालो, फोहोर देखिने वस्तु होइन । खराब बोसो भएको खानेकुराले शरीरलाई बिस्तारै खोक्रो पार्दै लान्छ । आजको भोलि नै यसको असर देखिँदैन, धमिराले खाएझैं बिस्तारै देखिन्छ ।

जनस्वास्थ्यकर्मीहरूलाई सबभन्दा दुःख त तब हुन्छ जब आमा–बाले नै माया गरेर खराब बोसो भएको खानेकुरा छोराछोरीलाई कोच्याउँछन् । पत्रु खानामा धेरै नुन, चिनी, बोसो र रसायनहरू हुने भएकाले स्वास्थ्यलाई हानि गर्छ भन्ने बुझे पनि, रक्सीको कुलतझैं यसको कुलत हत्तपत्त छाड्न सकिन्न ।
नियम नै पालना गर्ने हो भने त स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा चाउचाउ राख्नै नदिनुपर्ने हो ।

केही महिनाअघि शिक्षा र स्वास्थ्य मन्त्रालय मिलेर ५ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदा, खराब बोसो भएको खाना नदिने नीति बनाएका थिए । यस्तो नीति बनाउने पदाधिकारीहरू आफैं भने खराब बोसोयुक्त खाना कार्यालयमै मज्जासँग खान्छन् । उनीहरूले अब बालबालिकालाई ‘लौ, तिमीहरूचााहिँ कबाडी खाना नखानू है’ भनेर कसरी भन्ने । डा. अरुणा उप्रेतीको फेसबुकबाट साभार



प्रतिक्रिया दिनुहोस !