हिमालमुनि मेला
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११, छोम्रोङमा २० औं संस्करणको सेन्चुरी ल्होसार मेला-२०७८ सुरु भएको छ ।
सेन्चुरी युवा क्लबको आयोजनामा तमु समुदायको पर्व ल्होसारको अवसरमा चार दिनको मेला आइतबारदेखि सुरु भएको हो । छोम्रोङ अन्नपूर्ण आधार शिविर पदमार्गको प्रस्थान विन्दु हो ।
१४ पुससम्म चल्ने मेलाको एमाले नेता, पूर्व युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता विश्वकर्माले पर्यटन क्षेत्र कोरोनाले समस्याग्रस्त बनेकाले उत्थानका योजनाबारे सोच्नुपर्ने बताए ।
नेता विकले राजनीतिक भाषणमा बढी समय खर्चिए । उनले फेरि एमालेले चुनाव जित्ने दाबी गरे । “फेरि नेकपा एमालेले चुनाव जित्छ । अहिले सुरु भएका विकासका कामलाई तीव्र गतिका साथ अगाडि बढाउने छौँ,” उनले भने, “अहिले एकैछिन बादल लागेर घाम छेकिएको भए पनि सधैँ बादल सम्भव छैन । फेरि घाम लाग्छ । हामी जनताकै साथमा छौँ ।”
खुट्टा तान्ने प्रवृत्तिले देश पछाडि परेको बताए । सभामुख निष्पक्ष हुनुपर्नेमा कुनै पार्टी टुक्राउने मतियार बनेको नेता विकले आरोप लगाए । कांग्रेस, माओवादीलगायत दल आफ्नो स्वार्थमा लागेकाले देशको राजनीति अस्थिर बनेको उनको दाबी थियो ।








