८ जेष्ठ २०८१, मंगलबार

अतिक्रमितले नै खुशीका साथ फिर्ता गरे सरकारी जग्गा

प्रकाशित मिति :  3 March, 2020 3:40 pm


काठमाडाैं, २० फागुन । 

गौशालाका सन्तलाल साह गौचरन मिचिएकोमा चिन्तित हुनुहुन्थ्यो । आँखै अगाडि तीन सयभन्दा बढी गाईका बथान देखेका ७० वर्षीय साहले अतिक्रमणमा परेको यहाँको जग्गा फिर्ता होला भन्ने आश मारिसक्नुभएको थियो । उहाँले भन्नुभयो, “पहिला गौशालामा गाईका बथानले भरिभराउ हुन्थे, विस्तारै अतिक्रमणको चपेटामा प¥यो । पहिला जस्तो अहिले गाई पनि छैनन् । करिब डेढ सय गाई थिए । ती पनि अर्को स्थानतिर लगिएको छ ।”

यहाँका जग्गा अतिक्रमण गरी घरटहराले भरिभराउ थिए । सरकारी जग्गा फिर्ता गर्ने अभियानले स्थानीयवासीको मुहारमा खुशी छायो । स्थानीयवासी राकेशकुमार सिंह घरजग्गा भएका समेतले अतिक्रमण गरेर बनाएको गौशालाका जग्गा फिर्ता गर्ने सरकारको अभियान राम्रो भएको बताउनुहुन्छ । “सरकारले ठीक काम गरेको छ, सरकारी जग्गा खाली गर्नुपर्छ , अतिक्रमित हुनुहँुदैन”, उहाँले भन्नुभयो । स्थानीयवासी अनिता यादव र मञ्जुकुमारी मण्डलकोे वास्तविक गरिब परिवारको पहिचान गरी बसोबासको व्यवस्था सरकारले गरिदिए हुन्थ्यो भन्ने चाहना छ ।

“ घरजग्गा भएकाले पनि अतिक्रमण गरेर बनाएका जग्गा फिर्ता हुनु खुशीको कुरा हो , वास्तविक गरिब तथा सुकुम्बासीको उचित बसोबासको व्यवस्था होस्”, दुवैले एकै स्वरमा भन्नुभयो । गत आइतबार अपराह्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल यहाँ आइपुग्नुहुँदा स्थानीयवासीले तालीले स्वागत मात्रै गरेनन् वर्षौंदेखि अतिक्रमणमा परेको जग्गा फिर्ता भएकामा खुशी व्यक्त गरे ।

तीनवटा डोजरले अतिक्रमित घरटहरा भत्काइएको थियो । मन्त्रालयले पछिल्लो समय सरकारी जग्गामा बनेका घरटहरा भत्काइ जग्गा फिर्ता गराउने अभियान सञ्चालन गर्दै आएको छ । सोहीक्रममा यहाँका घरटहरा भत्काइएको हो ।
मन्त्री अर्यालले सो अवसरमा कोही पनि सुकुम्वासी र भूमिहीन अन्यायमा नपर्ने जानकारी दिनुभयो । गौशाला नगरपालिकास्थित निगोन गौशालाको नाममा रहेको सरकारी जग्गा फिर्ताभएको घोषणा गर्दै उहाँले वास्तविक सुकुम्वासीको व्यवस्थापन हुने जानकारी दिनुभयो । “भूमिहीन सुकुम्वासीको समस्या भूमि ऐन आठौँ संशोधनमार्फत हुन्छ, कोही सुकुम्वासी अन्यायमा पर्नु हँुदैन”, उहाँले भन्नुभयो ।

मन्त्री अर्यालले पछिल्लो समय अतिक्रमित सरकारी र सार्वजनिक गुठीको जग्गा फिर्ताको अभियानलाई तीव्रता दिनुभएको छ । यही क्रममा उहाँले यहाँस्थित गौशलाको नाममा रहेको अतिक्रमित जग्गा फर्काउनुभएको हो ।

विगत एक वर्षदेखि यहाँको सरकारी जग्गा संरक्षण गर्ने अभियान शुरु भएको थियो । गौशाला जग्गामा बसोबास गर्दै आएकालाई स्थानीय प्रशासन र नगरपालिकाले घरटहरा खाली गर्न पटक पटक पत्राचार तथा सार्वजनिक सूचना टाँस गरेको थियो । ती स्थानमा बसोबास गरेकाले घरटहरा नछाडेपछि डोजर लगाएर भत्काइएको हो ।

गौशालाका नाममा रहेको १४८ बिघा सरकारकी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएको ३० वटा घरटहरा भत्काइएको थियो । राष्ट्रिय सहकारी विकास बोर्डको स्वामित्वमा रहेको करिब २०० बिघा जग्गा घट्दै गएर हाल १४८ बिघा जग्गा सीमित भएको छ । गौशालालाई संरक्षण गरी उद्योग तथा कृषि फार्म सञ्चालन गर्ने सो बोर्डले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, सो नगरपालिकाका प्रमुख शिवनाथ महतो, सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश ठाडामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद पुडासैनी लगायत स्थानीय तहका नेताको उपस्थितिमा घरटहरा भत्काइएका हुन् ।

बोर्डको व्यवस्थापन र सञ्चालनमा रहेको सो गौशालाको जग्गामा विभिन्न व्यक्तिले पटकपटक अतिक्रमण गर्दै आएका थिए । पछिल्लो पटक सरकारले गएको माघ ७ गते अन्तिम सूचना जारी गरी जग्गा खाली गराइदिन आग्रह गरेको थियो । गतवर्ष पनि सरकारले उक्त ठाउँको जग्गा फर्काउन पहल गरेको थियो । तर उनीहरुकै आग्रहमा सरकारले केही समय दिएको बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले जानकारी दिनुभयो ।

सो नगरपालिकाका प्रमुख शिवनाथ महतोले भत्काइएका मध्ये तीन घरपरिवार वास्तविक भूमिहीन रहेको र उनीहरुको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !