५ जेष्ठ २०८१, शनिबार

काठमाडौंको शंखापुरमा एक दम्पत्ति मृत फेला

प्रकाशित मिति :  27 January, 2022 2:57 pm


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएको प्रहरी परिसर टेकुले जनाएको छ ।

उनका अनुसार बिहीबार बिहान ७ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि जेठो छोरा २६ वर्षीय सूर्यबहादुर थिङ ढोका फुटाएर घरभित्र प्रवेश गरेका थिए । त्यसक्रममा दुवै जना मृत अवस्थामा भेटिएको भन्दै उनले प्रहरी वृत्त, बौद्धमा खबर गरेका थिए ।

त्यस लगत्तै प्रहरी वृत्त, बौद्ध र अपराध अनुसन्धान महाशाखाको टोलीका अनुसार उनीहरु राति माकल बालेर सुतेका थिए ।

राति नै निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरी अधिकृतहरुको अनुमान छ । प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा लगेको थियो ।

डाक्टरहरुले पनि शवमा बाहिरी चोटपटक नदेखिएको र निस्सासिएकै कारण मृत्यु भएको हुनसक्ने र मृत्युको विस्तृत कारण पोष्टमार्टमपछि चिकित्सकले दिने प्रतिवेदनमा उल्लेख हुने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !